काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको संस्थापन पक्षले दम्भ देखाएर आफुहरुलाई नबोल भनेको आरोप लगाएका छन् ।
पार्टीको विवाद समाधान गर्नुपर्छ भनेर बोल्दा पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान हुँदैन भन्ने गरेको सिंहले बताए । कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत सोमबार काठमाडौं महानगरका विजयी पदाधिकारीहरुलाई ठमेल चाक्सीबारीस्थित आफ्नै निवासमा बधाई दिएपछि सिंहले यस्तो कुरा बताएका हुन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले भने,‘दम्भ देखायो भन्छन् हामीले के दम्भ देखाउने ? दम्भ त जो सत्तामा छ, संस्थापनमा छ, उनीहरूले नै देखाएका छन् । केन्द्रीय कार्यालयमा कार्यकर्ता धर्ना बसेको ८० दिन भैसक्यो । यसको समाधानका लागि कुरा उठाउँदा पदाधिकारीहरू नै स्यालको हुइयाँजस्तो पार्टीको आवाज बाहिर उठाउन भएन भन्छन् ।’
पार्टी पदाधिकारीहरूले बेलैमा क्रियाशील सदस्यताको विवाद हल नगर्दा समस्या भइरहेको सिंहले बताए । ‘काम चाहिँ गर्न नहुने खालका गर्ने, कार्यकर्ताको मनोबल गिराउने, अनि हामीले यस्तो गर्न पाइँदैन भन्दा बोल्न पाइँदैन भन्ने तिनीहरू को हुन् ?’ सिंहले प्रश्न गर्दै भने ।
कांग्रेस पार्टीमा सबैको लगानी भएकोले पदमा पुगें भनेर चाकडी र गुणगानमा मात्रै रमाउन नहुने सिंहको भनाई थियो ।
सिंहले पार्टीका अझै चार जिल्लामा क्रियाशील सदस्यता विवाद टुंग्याउन बाँकी रहेको भन्दै १४औं महाधिवेशनबाट जिम्मेवार नेताको हातमा नेतृत्व पु¥याउन नेता–कार्यकर्ताहरुलाई आग्रह समेत गरे । सिंहले काठमाडौं महानगरपालिकामा विजयी नीलकाजी शाक्य नेतृत्वको टोलीलाई घरमै बोलाएर बधाई दिएका हुन् ।