काठमाडौं। उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका तथा हराएका २१ मोटरसाइकल ट्राफिक प्रहरीले फेलापारी धनीको जिम्मा लगाएको छ। मंगलबार महाशाखामा सम्बन्धीत धनीलाई बोलाएर जिम्मा लगाइएको हो।
सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरेर महाशाखाले थालेको अपरेशनमा १० वटा मोटरसाइकल र ११ स्कुटर फेला परेको थियो।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार सूचना संकलन र विशेष निगरानी पश्चात् यी मोटरसाइकल बरामद भएका हुन्। ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गरि कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ। मोटरसाइकल चोरी हुन नदिन सवारीधनी आफैं चनाखो हुनुपर्ने सुझाव भट्टराईको छ।
‘विशेष गरि स्कुटरको सवारी दर्ता किताब (विलबुक) डिकीमै राख्ने चलन छ। चोरी पश्चात् नम्बर प्लेटसमेत परिवर्तन नगरी ट्राफिक चेकिङ्गमा सोही ब्लुबुक देखाउने गरेको समेत पाइएको छ’, भट्टराईले भने,‘कतिपय अवस्थामा साँचोसहितका स्कुटरहरु हराउने गरेकाले सवारी धनी सजह हुनुपर्ने देखिन्छ।’
पछिल्लो समय उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्य डियो स्कुटर र पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखा जनाएको छ।
महाशाखाका अनुसार यस आर्थिक वर्षमा हराएका ३२६ मोटरसाईकल मध्ये १४६ मोटरसाइकल नियन्त्रणमा लिएको छ । १४६ मध्ये १२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको र अन्य २४ वटाको धनी पत्ता लगाउने कार्य भैरहेको महाशाखाले जनाएको छ ।
मोटरसाईकल चोरीमा संलग्न १९ जना व्यक्तिलाई विभिन्न स्थानहरुबाट चोरीका मोटरसाईकल सहित पक्राउ गरी सम्बन्धित प्रहरी वृत्तहरुमा कारबाहीको लागी पठाइएको महशाखाले जनाएको छ ।
चाडपर्वको मौका छोपी मोटरसाइकल चोरीका घटनाहरु बढ्न सक्ने आशंका ट्राफिक प्रहरीको छ। विशेष सुरक्षा योजना कार्यान्वयन गर्न थप सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गर्दा पनि चाडपर्वको समयमा किनमेल गर्ने भिडभाड हुने स्थानहरुमा जथाभावी पार्किङ नगर्न र अतिरिक्त लकहरुको प्रयोग गर्न महाशाखाले सुझाएको छ।