
काठमाडौं । सात वर्षअघि आफ्नै श्रीमतीलाई भारतको बेश्यालयमा बेचेर फरार हुँदै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बालाजुकी सम्झना (नाम परिवर्तन) लाई उनका श्रीमान राजेश (नाम परिवर्तन) ले २०७१ मा एक लाख ६० हजार रुपैयाँ बेचेको आरोप थियो। प्रेम सम्बन्धबाट पाँच वटा बालबच्चा जन्माएकी सम्झनालाई उनका श्रीमान राजेशले पासाङ तामाङको जिम्मा लगाएका थिए। पासाङले बालाजुको एक होटलमा एउटी महिलालाई घरयासी काममा लगाईदिन्छिन् भन्दै छाडेर फरार भएका थिए।
घरयासी काममा लगाई मासिक १० हजार रुपैयाँ दिन्छु भनेर ति महिलाले सम्झनालाई तीन दिनसम्म आफ्नो कोठामा राखेर एक व्यक्तिमार्फत सुनौली नाका हुँदै ट्रेनमा राखी भारतको नयाँ दिल्ली पुर्याएका थिए। दिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुगेकी सम्झनालाई तामाङले आफ्नो घरमा तीन दिनसम्म राखेर आग्रामा रहेको बेश्यालयमा पुर्याएका थिए।
तामाङले आग्रामा आठ महिनामासम्म संझनालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएपछि पुनः लिन आई आफ्नो घरमा राखेका थिए। उनले दिल्लीको ६४ नं.को गल्लीमा रहेको कोठीमा राखी वेश्यावृत्तिमा लगाएपछि सम्झनाले त्यहाँबाट हारगुहार गरेकी थिइन्।
भारतस्थित नेपाली दूतावास र शक्ति समूहको सहयोगमा उनी गएको जेठ ३१ गते नेपाल फर्किएकी थिइन्। नेपाल फर्किएपछि सम्झनाले गत भदौ १ गते मानव बेचबिखन ब्यूरोमा उजुरी दिएपछि प्रहरीले उनको श्रीमान र बिक्री गर्ने कार्यमा संलग्न पंकजको खोजी गरेको थियो।
ब्यूरोका प्रवक्ता एसपी अनुराग कुमार द्विवेदीका अनुसार सम्झनालाई आफ्नै श्रीमानले एक लाख ६० हजारमा बेचेका थिए। मानव बेचविखन मुद्दामा दुई जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जानकारी उनले दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend