एजेन्सी । फ्रान्सको क्याथोलिक चर्चका पादरीहरुले दुई लाख भन्दा बढी बालबालिकामाथि यौन शोषण गरेको तथ्य खुलासा भएको छ ।
सन् १९५० देखि यता दुई लाख १६ हजार बालबालिकामाथि यौन शोषण भएको र त्यसमध्ये धेरै जसो बालक रहेको फ्रान्सका अनुसन्धानकर्ता जिन मार्क सौभले गरेको अनुसन्धानलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
सौभले फ्रेन्च क्याथोलिक चर्चमा भएको यौन दुर्व्यवहारसम्बन्धी लामो रिपोर्ट सार्वजनिक गर्दै भनेका छन्, ‘संसारभर यस्ता काण्डहरु थुप्रै भेटिन्छन्। तर फ्रान्सको क्याथोलिक चर्चको मात्र अनुसन्धान हेर्ने हो भने यहाँ डरलाग्दो तथ्यांक छ। पादरीहरुबाहेक अन्य सदस्यसहितको तथ्यांक हेर्ने हो भने यौन दुर्व्यवहारमा पर्ने पिडितको संख्या अझै दोब्बर छ।’
फ्रान्सका क्याथोलिक चर्चहरूमा हुने यौन शोषणको अनुसन्धान गर्न सन् २०१८ मा एउटा आयोग बनाइएको थियो। उक्त आयोगको नेतृत्व सौभले गरेका थिए ।
करिब तीन वर्षभन्दा बढी समय लगाएर सो रिपोर्ट तयार पारिएको थियो। रिपोर्टमा उल्लेख भए अनुसार १० देखि १३ वर्षका बालबालिकाहरु यौन शोषणमा पर्दै आएका छन् । करिब २ हजार ५ सय पेज लामो रिपोर्टमा १ लाख १५ हजार पादरी र अन्यमध्ये ३ हजार २ सयभन्दा बढी आरोपितको प्रमाण फेला परेको बीबीसीमा उल्लेख छ।