मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

पेट्रोलियम सबारी साधन विस्थापित गर्न हाइड्रोजन उपयुक्त माध्यम  

पेट्रोलियम सबारी साधन विस्थापित गर्न हाइड्रोजन उपयुक्त माध्यम  

hydrojen vehicales.jpg

नेपाल दक्षिण एसियाको सबैभन्दा छिटो बढ्दो महानगरीय क्षेत्रमध्ये एक हो । उपत्यकामा निजी सवारी साधनहरुको संख्या उच्च दरले बढिरहेको छ । यसले गर्दा छोटो अवधिमा उच्च परिमाणमा कार्बन उत्सर्जन वृद्धि भईरहको छ। नेपालको कुल कार्बन उत्सर्जन को ४५% सबारी साधनबाट उत्सर्जन हुन्छ । प्रत्येक वर्ष, वायु प्रदूषणले ९ हजार  शिशुको अकालमै ज्यान लिदैंछ ।

यातायात क्षेत्रमा विद्युतीकरणको सहयोगमा प्रदूषित वातावरणीय हावाको गुणस्तरमा सुधार गर्न सकिन्छ । यसबाहेक पेट्रोलियम पदार्थको सहयोगमा सञ्चालन हुने सबारी साधनबाट उत्सर्जन हुने कार्वन ग्यासको परिमाणलाई घटाउन पनि सकिन्छ । यो समस्यालाई सम्बोधन गर्न सरकारले आगामी सन् २०३० सम्म ५०% सार्वजनिक सबारीका साधनलाई विद्युतीकरण गर्ने निर्णय गरेको छ। आयातित पेट्रोलियममा पूर्णतया निर्भर भएको हाम्रोजस्तो विकासोन्मुख मुलुकलाई यातायात क्षेत्रमा इन्धनको खपत दर घटाउन सकिए बहुमुखी फाइदा हुनेछ ।

यातायात क्षेत्रको विद्युतीकरणका लागि बजारमा दुई प्रकारका विकल्प छन् । यसमध्ये ब्याट्रीमा आधारित बिद्यूतीय सवारी साधन र हाइड्रोजन फ्युलमा आधारित हाइड्रोजन फ्युल सेल सवारी साधन हुन् । ब्याट्रीमा आधारित बिद्यूतीय सवारी साधन छोटो दुरीको लागि उपयुक्त छ भने हाइड्रोजन फ्युलमा आधारित हाइड्रोजन फ्युल सेल सवारी साधन लामो दुरी र हेभी डिउटी क्षमताको लागि उपयुक्त छ ।

उदाहरणको लागि पेट्रोलियमको सहयोगमा सञ्चालन हुने सबारी साधनमा पेट्रोल र डिजेल लाग्छ । त्यस्तै हाइड्रोजन फ्युलको सहयोगमा सञ्चालन हुने हाइड्रोजन फ्युल सेल सवारी साधनमा हाइड्रोजन नै चाहिन्छ । हाइड्रोजन नेपालमा नवीकरणीय ऊर्जा जस्तै जलविद्युत, पवन ऊर्जा र सौर्य ऊर्जाबाट उत्पादन गर्न सकिन्छ। हाइड्रोजन एक उत्कृष्ट ऊर्जा भण्डार गर्ने माध्यम हो जसमा वर्षौसम्म नवीकरणीय ऊर्जा भण्डारण गर्न  सकिन्छ।

वर्षा मौसममा उत्पादन हुने अतिरिक्त जलविद्युतबाट हाइड्रोजन उत्पादन गर्न सकिन्छ । हाइड्रोजन फ्युल सेल सवारी साधनहरुमा प्रयोग गर्न सकिन्छ । यो जलविद्युत उत्पादन क्षमता कम हुने सुख्खा मौसममा पुनः विद्युतीकरणको लागी पनि प्रयोग गर्न सकिन्छ।

सन् २०३० सम्ममा ३५०० मेगावाटसम्मको अतिरिक्त जलविद्युत् नेपालमा उत्पादन हुन्छ । यो परिमाणमा उत्पादन हुने अतिरिक्त बिद्युतको प्रयोग गरी कम लागत खर्चमा हाइड्रोजन उत्पादन गर्न सकिने नेपालको लागि ठूलो अवसरसमेत छ ।

नेपाल कम लागत खर्चमा हाइड्रोजन उत्पादक देशको रूपमा स्थापित भएपछि अन्तर्राष्ट्रिय हाइड्रोजन फ्युल सेल सवारी साधन निर्माताहरुलाई नेपालको बजारमा प्रवेश गर्नका लागि आकर्षितसमेत गर्न सकिन्छ ।

हाइड्रोजन फ्युल सेलयुक्त सवारी साधनहरु आफ्नो वजनको सम्बन्धमा अधिक ऊर्जा  भण्डारण गर्न सक्छन् । यस्तो सबारी साधनहरुमा छिटो ईन्धन भर्न सकिन्छ। ब्याट्री युक्त बिद्युतीय सवारी साधनमा ईन्धन भर्न कम्तिमा ३-४ घण्टा लाग्छ । तर हाइड्रोजन फ्युल सेल सवारी साधनहरुमा १०- १५ मिनेटमा ईन्धन भर्न सकिन्छ ।  

हाइड्रोजन फ्युल सेल सवारी साधनसंग हेवी डिउटी क्षमताको डिजेल सबारी साधनलाई प्रतिस्थापन गर्न सक्ने क्षमता छ । हेवि डिउटी क्षेत्रको बजारमा हाइड्रोजन टेक्नोलोजीलाई अपनाउँदा हाइड्रोजनको प्रयोगको व्यापक सुरुवातसँगै सफलता प्राप्त हुन सक्ने अमेरिकी उर्जा विभागका वैज्ञानिकहरुले घोषणा गरेका छन् ।

ट्रकजस्ता हेवी डिउटीका साधनको लागि हाइड्रोजन फ्युल सेल एउटा आदर्श प्रतिस्थापन गर्ने इन्धन हो। यसको प्रतिस्थापनले व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ । साथै मानव स्वास्थ्यका लागि घातक मानिने कार्वन उत्सर्जनको परिमाणलाई कम गर्न सकिन्छ । हाइड्रोजनको उत्पादन र उपयोग नेपालका लागि विकासको सम्भावित क्षेत्र मान्न सकिन्छ । यसले मुलुकको ऊर्जा सुरक्षामा सुधार ल्याउन सहयोग गर्न सक्छ ।  

देशको व्यापार घाटालाई सन्तुलनमा राख्न सक्छ। हाइड्रोजन उत्पादन भण्डारण, वितरण, उपयोग गर्ने प्रविधि र हाइड्रोजन फ्युल सेल सवारी जस्ता हाइड्रोजनमा आधारित उपकरणहरुको लागी आवश्यक सम्पूर्ण लगानीमा लाग्ने खर्चको बारेमा आँकलन गर्न सक्ने पहिलो खुडकिलो हुन सक्छ ।

हाइड्रोजनको दीक्षा कार्यान्वयनका लागि यसप्रति सरोकार राख्ने लगानीकर्ता, अनुगमन र नियमनकर्ता र उद्योगीबीच सम्झौतामार्फत एउटा राष्ट्रिय रोडम्यापको खाका तयार गर्न अति आवश्यक छ ।  नेपालको हरित विकाशका लागि यस्तो पहललाई प्रभावकारी र लाभदायक रुपमा कुन कुन स्थानमा सञ्चालन गर्न सकिन्छ भनेर आवश्यक खाका तयार गर्न आवश्यक छ ।

(लेखक शाक्य काठमाडौं विश्वविद्यालयमा ग्रीन हाइड्रोजन ल्यावमा सहायक अनुसन्धानकर्ता हुन् ।) 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend