एजेन्सी । अन्ततः जापानी राजकुमारी माकोले मंगलबार आफ्ना प्रेमी केइ कुमुरोसँग विवाह गरेकी छिन् । विवाहलगत्तै उनको जापानको राजकीय पदवी पनि गुमेको छ । राजपरिवारको सहमतिपछि राजपरिवार बाहिरका व्यक्ति कोमुरोसँग माकोको विवाह सामान्य तरिकाले भएको हो ।
जापानको राजपरिबारको सदस्यले सर्वसाधरणसँग विवाह गरेमा स्वतः राजकीय हैसियत समाप्त हुन्छ । महिलाले आफ्नो राजकीय उपाधि त्याग्नुपर्छ भने पुरुषलाई यो बाध्यता छैन् । माकोले कुमुरोसँगको विवाहका लागि राजकीय पदवी त्याग्ने बताउँदै आएकी थिइन् ।
माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो छोरी हुन् । विद्यावारिधि गरिरहेकी उनी अनुसन्धानकर्ताको रूपमा काम गर्दैछिन् ।
माको र कुमुरो लामो समयदेखि पे्रम सम्बन्धमा थिए । उनीहरुको सन् २०१२ मा विश्वविद्यालयमा भेट भएको थियो ।
३० वर्षीय कुमुरोले अमेरिकामा अधिवक्ताको रुपमा काम गर्छन् । विवाहपछि माको पनि अमेरिका नै बस्नेछिन् । यो जोडीको सन् २०१७ मा इन्गेजमेन्ट भएको थियो । सन् २०१८ मा विवाह गर्ने योजना रहे पनि माकोको हुनेवाला सासुको वित्तिय लफडाका कारण स्थगित भएको थियो ।
जापानको क्योदो समाचार संस्थाका अनुसार यो जोडीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेकाे छ ।