काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि नघटाएसम्म आन्दोलन जारी राख्ने जनाएको छ । पार्टीका नेता धर्मेन्द्र बास्तोलाले जनताको ढाडसेक्ने गरी गरिएको मुल्यबृद्धि नघटाएसम्म नेपाल बन्द लगायत आन्दोलनको कार्यक्रम जारी राख्ने बताए ।
‘बन्द शब्द अप्रिय लाग्न सक्छ । त्यो स्वभाविक हो । तर राज्यले समास्याको समाधान गर्न नसक्दा यस्तो आन्दोलन गर्न बाध्य भएका हौं । तेलमात्र होइन चामल, पिठो, कोदो जस्ता बस्तुको मुल्य पनि घट्नु पर्छ । हिजो राणा र पञ्चायतले जस्तो गर्ने काम सरकारले गरेको छ । सरकारले अत्याचार गरेपछि जनता र समाज आन्दोलित हुन्छ,’ बास्तोलाले भने ।
मुल्य नघटाएसम्म जनताको आन्दोलन नरोकिने पनि उनले बताए । उनले सरकारले जनतालाई सर्वसुलभ सेवा प्रदान गर्न नसके सत्ता छाड्न आग्रह गरे । नेकपा (विप्लव) ले सरकारले पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेसँगै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । सोही अनुरुप कात्तिक ३० गते (मंगलबार) नेपालबन्दको घोषणा गरेको छ ।
मुल्य बृद्धि तथा महङ्गी विरुद्ध (विप्लव) समूहका यु्वा विद्यार्थीले आइतबार एक घण्टा चक्काजाम गरेका थिए । चक्काजाम गर्दा ठमाडौँका विभिन्न ठाउँबाट ३१ जनालाई गिरफ्तार समेत गरेको थियो । पछिल्लो समय बढ्दै गइरहेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि तथा महङ्गी विरुद्ध विप्लव नेकपाको चरणबद्ध आन्दोलनको घोषणा नरोकिने बास्तोलाले दोहोर्याए ।