काठमाडौं । आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेदवारबारे निर्णय गर्न कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यको बैठक बस्दै छ। बिहान आठ बजे बत्तिसपुतलीमा बस्ने बैठकले साझा धारणा तय गर्ने र सोही अनुरुप शीर्ष नेतालाई दबाब दिने जनाइएको छ।
बैठकबाट निस्किएको निचोडबारे थप छलफल गर्न उक्त पक्षबाट सभापतिका दाबेदार चारैजना १० बजे बैठकमा पुग्ने एक नेताले बताए। उक्त समूहले सभापतिको साझा उम्मेदवार तय गर्न मंगलबारदेखि रस्साकस्सी गरेपछि हालसम्म कुनै निष्कर्ष निकाल्न सकेको छैन।
सो समूहबाट वरिष्ठ नेता पौडेलसहित प्रकाशमान सिंह, शेखर कोइराला तथा शशांक कोइरालाले सभापतिमा दाबी गरेका छन्। आजको बैठकपछि साझा उम्मेदवारको टुंगो लाग्ने दाबी नेताहरुको छ।