
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजीवी समुदायमाथि प्रहार गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बुद्धिजीवीहरुमाथि तीखो प्रहार गरेका हुन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।
ओलीले आफूले देशको विकास र समृद्धिको कुरा गर्दा तत्कालीन राजा महेन्द्रसँग दाँजिएको भन्दै रोष प्रकट गरे। ‘मैले देश विकास र समृद्धिको कुरा गर्दा महेन्द्रसँग दाँजिँदैछ। मैले जनतालाई सुखी राख्ने कुरा गर्दा यो त महेन्द्रले बोलेको भन्छन्’ ओलीले भने, ‘मैले रारा तालबाट देशबासीलाई सम्बोधन गर्दा पनि राराताललाई ‘महेन्द्र ताल’ भनेको सुनेँ, नेपालका बुद्धिजीवी पनि अचम्मका देखेँ मैले।’
देश र समाजका अगुवा भनिने बुद्धिजीवीहरुले आफ्ना नीति तथा कार्यक्रमबारे हाँसोको विषय बनाएकोमा पनि उनले आपत्ति जनाएका खबर आजको अन्नपूर्ण पोष्टले छापेको छ। ‘मैले रेल कुदाउने, केबल कार चलाउने र समुद्रमा नेपाली झण्डासहितको पानी जहाज चलाउने कुरा गर्दै आएको छु’ ओलीले भने, ‘विकास कुरा गर्यो भने जनताका कुरा गरेन भन्दै उल्टै प्रश्न गर्छन् । यस्ता पनि बुद्धिजीवी हुन्छन्?’
ओलीले नेपालका बुद्धिजीवीलाई मुसासँग तुलना गर्दै देशविरुद्ध लाग्न उनीहरुले दाँतमा धार लगाएको बताए। ‘नेपालका बुद्धिजीवी मुसा जस्ता छन् । माइत जान लागेकी बुहारीको साडी काटेर मुसाले अलपत्र बनाइदिन्छ। ससुराली जान लागेको जुवाइँको कोट काटिदिएर मुसोले बदमाशी गर्छ, मुसाले त कुरो बुझ्दैन’ ओलीले भने, ‘नेपालका बुद्धिजीवी त देशैविरुद्ध दाँतमा धार लाउँछन्, विश्वविद्यालयको सर्टिफिकेट ल्याएर मात्रै बुद्धिजीवी होइन्न । राम्रो कामको समर्थन पनि गर्न सक्नुपर्छ।’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend