काठमाण्डौ । वैदेशिक रोजगारीमा जानको लागि दिइने पुनः श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन मिल्ने भएको छ । काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले भोलि अर्थात् आइतवारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने जनाएको हो । वि.सं. २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकोमा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुन लागेको हो ।
श्रम स्वीकृतिलाई ’फेसलेस’, ’पेपरलेस’ र ’क्यासलेस’ बनाइ छिटो, छरितो र पारदर्शी रुपमा गुनासो रहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । योसँगै अब पुनः श्रम स्वीकृतिको काम वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएस मार्फत अनलाइनबाट मात्रै हुने वैदेशिक रोजगार कार्यालयले जनाएको छ ।