logo

२०८१ पुष २७ शनिबार

logo
  • शनिबार, २७ पुष २०८१
  • कमल थापा बिना नै राप्रपालाई मजबुत बनाउन देश दौडाहामा लिङ्देन

    कमल थापा बिना नै राप्रपालाई मजबुत बनाउन देश दौडाहामा लिङ्देन

    1.9K
    Shares

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संगठन सुदृढीकरणलाई जोड दिने भएको छ । पार्टीका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट बाहिरिँदै गणतान्त्रिक पार्टी स्थापना गर्न गृहकार्य थाल्दै गर्दा सो राप्रपाले चाहिँ संगठन सुदृढिकरणमा जोड दिने भएको हो । 

    जसअनुसार पार्टीको विस्तारित बैठक हुन बाँकी प्रदेशहरूमा विस्तारित बैठक गरिनेछ भने आगामी फागुनदेखि ७७ वटै जिल्लामा सानाठूला २०० भन्दा बढी आमसभा तथा सभाहरू गर्ने तयारी गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    यस्तै अध्यक्ष राजेन्द्र लिङ्देनले संगठनलाई चलायमान र मजबुत बनाउन देश दौडाहा पनि गर्नेछन् । जसअनुसार शुक्रबार अध्यक्ष लिङ्देन गृह जिल्ला झापाका लागि प्रस्थान गर्ने कार्यक्रम छ । सो क्रममा लिङ्देनले झापामा आयोजित पार्टी प्रवेश कार्यक्रम र प्रदेश १ का नेता कार्यकर्ता भेटघाट र बैठकहरूमा सहभागी हुनेछन् ।

    उसो त राप्रपा परित्याग गरेका कमल थापाले पनि देश दौडाहा थालिसकेका छन् । सोही अनुसार थापा पनि प्रदेश नम्बर १ कै जिल्ला भ्रमणमा रहेका छन् । गत मङ्सिर दोस्रो साता अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनले समान विचारधारा र एजेण्डा बोकेका पार्टी, संघसंगठन र व्यक्तिसँग एकता वा सहकार्य गर्ने बताएका थिए ।

    त्यसयता विवेकशील साझा पार्टीसँग लिङ्देनले वार्ता गरेको भए पनि खासै प्रगति भने देखिँदैन । यहीबीचमा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले स्थानीय तह लक्षित अभियानलाई सशक्त बनाउने निर्णय बैठकले गरिसकेको छ ।

    श्रेष्ठका अनुसार आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन विशेष कार्ययोजनाबारे छलफल भएको थियो ।

    जसअनुसार पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजना बारे आम जनतालाई जागरूक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने लगायतका निर्णय भएका छन् । 

    लिङ्देन समूहले कमल थापाले पार्टी छाडेर गम्भीर भूल गरेको निष्कर्ष निकाल्दै यसबारे भण्डाफोर गर्ने समेत जनाएको छ । ‘स्पोर्टस्म्यान स्प्रिट भन्ने तर आफै शक्तिमा रहनुपर्छ भन्ने सोच उहाँमा देखियो । निर्वाचनको परिणामलाई क्षतविक्षत बनाउने गम्भीर अपराध कमल थापाबाट भएको छ’, राप्रपाका एक नेताले भने ।

    ३१ वर्षसम्म साथ लिएका लिङ्देनलाई कमल थापाले एक मिनेट पनि साथ नदिई निर्वाचनको परिणाम मत परिणाम घोषणाअघि नै थापाले परिस्थितिलाई गिजोलेका ती नेताको आरोप छ । थापाले मंगलबार राप्रपा परित्याग गरेका थिए भने उनले नयाँ पार्टी दर्ताको पहल थालेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend