आईसीसी टी–२० विश्वकप छनोट ग्लोवल क्यालिफायरमा क्यानडाले नेपालसामू ८१ रनको विजय लक्ष्य पेश गरेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रनमा समेटियो ।
क्यानडालाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले ३ र अविनाश बोहोरा र कमलसिंह ऐरीले २÷२ विकेट लिए । कुशल मल्लले १ विकेट लिए । पहिलो ओभरमै कमलसिंह ऐरीले क्यानडाका म्याथ्यु स्पोर्सलाई खाता खोल्नै नादिई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए ।
पाँचौं ओभरमा कमलले नै नवजीत धालिवाललाई १८ रनको स्कोरमा लोकेश बमबाट क्याच आउट गराए । छैटौं ओभरमा क्यानडाले २ विकेट गुमायो । अर्का ओपनर रयान पठान १४ रनको स्कोरमा रनआउटको शिकार भए । रन लिने क्रममा रविन्दरपाल सिंहसँग तालमेल नमिल्दा दुवै ब्याट्सम्यान एकै एण्डमा पुगेका थिए ।
सोही ओभरको छैटौं बलमा अविनाश बोहोराले रविन्दरपाललाई विकेटकिपर आसिफ शेखबाट क्याचआउट गराउँदा क्यानडा ६ ओभरभित्र ३७–४ को स्थितिमा पुगेको थियो । दोस्रो विकेटका लागि पठान र धालिवालले ३४ रनको साझेदारी गरेका थिए । पठानले १४ र धालिवालले १८ रन जोडे ।
त्यसयता लगातार ओभरमा विकेट झरिरह्यो । ४.३ ओभरमा ३५ रन बनाउँदा दोस्रो विकेट गुमाएको क्यानडाले १०.१ ओभरमा ४८ रन बनाउँदा नवौं विकेट गुमाएको थियो । अन्तिम विकेटका लागि डिलोन हेलिगर र सलमान नजरले ३२ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । हेलिगरले २२ बलमा सर्बाधिक २४ रनको अविजित पारी खेले । नजरले १० रन बनाए ।
यो खेलमा जित हासिल गरेको अवस्थामा नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । समूह ए बाट आयरल्याण्ड र युएई क्रमशः विजेता र उपविजेताका रुपमा सेमिफाइनल पुगिसकेका छन् ।
समूह विजेता भएमा नेपालले फाइनल प्रवेशका लागि युएईसँग खेल्नुपर्नेछ । यो समूहबाट फाइनलिष्ट टोलीले सन् २०२२ को अन्तिममा अस्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्नेछ ।