काठमाडौँ — नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम रावलले एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्दार हुने बताएका छन्।
मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै रावलले भने ‘यत्रो राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषय यस्तो होहल्लाका बीच पेश गर्नु देशप्रतिको गद्दारी हो, जनताप्रतिको धोका हो र नेपाल राष्ट्रको अपमान हो । यस्तो अपमान गर्ने सरकार इतिहासमा देशघाती बनेर दर्ज हुनेछ’ ।
एमसीसी राष्ट्रघाती भएको भन्दै एमसीसी सम्झौतालाई संसद्बाट अस्वीकार गरियोस् भनी उनले सबै समक्ष आह्वान समेत गरेका थिए । एमसीसी लागू भएमा नेपालले अमेरिकी कानुन मान्नुपर्ने भन्दै नेपालको स्वतन्त्र परराष्ट्र नीतिमा पनि आघात पुग्ने उनको तर्क थियो ।
नेता रावलले एमसीसीमा रहेका कतिपय प्रावधानप्रति पहिलेदेखि नै आपत्ति जनाउँदै आएका छन् । त्यसले नेपालको स्वाधिनता हनन् गर्दै नेपाललाई उपनिवेशको बाटोमा धकेलेको रावलको भनाइ छ ।