काठमाडौं । लामो समयदेखि आन्तरिक बिबादमा फसेको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राजनीतिक दलका प्रस्टीकरण आउने क्रम जारी छ ।
नेपाली राजनीतिमा सबैभन्दा बढी विवादमा परेकामध्येको एक एमसीसीका बारेमा राष्ट्रिय रूपमा तल्लो तहसम्म जनमानस धुव्रीकृत भएपछि राजनीतिक दलले प्रस्टीकरणको क्रमलाई तीव्रता दिएका हुन् ।
गत १५ फागुनमा प्रतिनिधिसभा बैठकबाट ‘व्याख्यात्मक घोषणा’सहित बहुमतले एमसीसी पारित भएको भोलिपल्ट अर्थात सोमवार सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पत्रकार सम्मेलनमार्फत नै अनुमोदन गराउनुपर्ने कारणका बारेमा प्रस्टीकरण दिइसकेका छन् ।
बिगतमा ‘सुरक्षा रणनीति’ अन्तर्गत रहेको भन्दै संसोधन र परिमार्जन बिना अनुमोदन हुन नसक्ने अडान राख्दै आएको माओवादी केन्द्रले सोमबारबाट एमसीसी ‘आर्थिक सहायता परियोजना’ मात्रै भएको प्रस्टीकरण दिइसकेको छ ।
एमसीसी सम्झौतालाई जस्ताकोतस्तै अनुमोदन गरेमा फरक नपर्ने भन्ने कांग्रेसले पनि बहुमतले अनुमोदन गर्न सहयोग गरेको भन्दै धन्यवाद दिएको छ भने सोमबार नै बसेको कांग्रेस नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले ‘भ्रम चिर्दै’ एमसीसी पारित गराउन सहयोग गरेको भन्दै औपचारिक रुपमा नै आभार प्रकट गरेको छ ।
कांग्रेस र माओवादी केन्द्रले प्रस्टीकरण दिएको भोलिपल्ट एमसीसी अनुमोदन प्रक्रियामा सामेल नै नभएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत प्रस्टीकरण दिँदैछ ।
अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने पत्रकार सम्मेलनमा ओलीले एमसीसी अनुमोदनका लागि आफू नेतृत्वको सरकारले संघीय संसद सचिवालयमा किन दर्ता गरायो, अनुमोदन प्रक्रियामा किन सामेल भएन ? भन्नेसम्मका प्रस्टीकरण दिने अपेक्षा राजनीतिक बृतले गरेको छ ।
नेकपा एमालेसँग विभाजित नेकपा (एस)ले पनि आजै अपरान्ह २ बजे पत्रकार सम्मेलनमार्फत एमसीसी अनुमोदन गर्नुपर्ने अवस्थाका बारेमा प्रस्टीकरण दिनेछ ।
अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूको उपस्थितिमा आयोजना हुने उक्त पत्रकार सम्मेलनमा ७ फागुनको स्थायी कमिटीको बैठकको निर्णयवाट किन पछाडि हटनु परेको थियो ? जस्ता विषयमा प्रस्टीकरण दिने बुझिएको छ ।