नेपालगञ्ज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन् ।
निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै मन्त्री पौडेलले सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नुपर्ने बताएका हुन् ।
उनले राज्यको ३० प्रतिशत व्यायभार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृति सिकाउनुपर्नेमा वर्तमान अवस्थामा संस्कार र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे ।
‘विज्ञहरुले नैतिक शिक्षा विषयका रुपमा राख्नुपर्छ भन्नुभएको छ” उनले भने, “आजभोलि समाजमा अरजकता, अश्लिता बढेर गएको छ, जिम्मेवारीबोध कम हुने, अधिकारको खोजी मात्रै हुने, आफ्नो भूमिकालाई विर्सर्ने संस्कार र सस्कृति बढेर गएको छ, यसलाई नियमन गर्ने भनेको शिक्षा हो ।
शिक्षालाई व्यवस्थित गरी उत्पादन जनशक्तिलाई अनुशासन बनाउन सके बिगिँ्रदै गएको संस्कार र संस्कृृतिलाई लयमा फर्काउन सकिने उनको भनाई छ । मन्त्रालयले कुनै पनि शिक्षालाई विभेद नगर्ने बताउँदै बन्दै गरेका ऐन शिक्षामैत्री बन्ने उनले बताए ।
१० वर्षे शिक्षाका योजनाहरु सार्वजनिक गरेको बताउँदै मन्त्री पौडेलले निजी क्षेत्रको सम्पत्ति सुरक्षा गर्ने राज्यको दायित्व भएको बताए । राज्यको तर्फबाट प्रचलित कानुन अनुसार सबैलाई समेटर जाने बताउँदै मन्त्री पौडेलले प्रदेश र स्थानीय तहलाई अधिकार दिने विषयमा कञ्जुसाई नगर्ने जिकिर गरे ।
५५ बुँदे कार्ययोजना सार्वजनिक गरी नितिगत सुधारमा लागेको सुनाउदै मन्त्री पौडेलले ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षा पुर्याउने लक्ष्य रहेको बताए ।