काठमाडौं । गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले केपी शर्मा ओली सरकारले बसालेको थितीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले बेथितीमा परिणत गराएको बताएका छन् । शुक्रबार गण्डकी प्रदेश सभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा कुशासनको डढेलो लागेको समेत बताए ।
प्रदेश सांसद पहारीले विदेशीहरूसँग भिख मागेरभन्दा पनि देशभित्रै उत्पादन र उत्पादकत्व बढाएर साथै व्यवसायमैत्री वातावरण सिर्जना गरेर मात्रै देशलाई समृद्ध बनाउन सकिने धारण राखेका थिए । उनले जनतालाई अनुभूति हुने गरी काम गर्नु पर्ने बताए । ‘प्रदेश सरकारले झण्डावाल गाडी देखाएर हैन जनतालाई अनुभूति गराएर सरकारको दायित्व पुरा गर्नुपर्छ’– उनले भने ।
बेथितिको बारेमा बोल्दै उनले भने– ‘बस्ती टोलमा मात्र होइन, सिङ्गो मुलुकमा आगो मात्र लागेको होइन डढेलो लागेको छ । भ्राष्टाचारको डढेलो लागेको छ, कुशासनको डढेलो लागेको छ, विकृति विशंगतीको डढेलो लागेको छ, मूल्यवृद्धिको डढेलो लागेको छ । यो कुरा मैले भनेको होइन, तथ्यांकले बताएको छ ।’
’हिजो केपी ओली प्रधानमन्त्री हुँदा व्यापार ६.३ प्रतिशतले घटेको थियो । निर्यात ७ प्रतिशतले वृद्धि भएको थियो, आर्थिक वृद्धिदर लगातार तीन वर्षसम्म ७ प्रतिशतभन्दा माथि थियो ’– सांसद पहारीले भने ।