काठमाडौं । जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोपमा एक जना युवालाई अदालतले दुई महिना कैद सजाय हुने फैसला सुनाएको छ ।
धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा उच्च अदालत दीपायलले कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजायको फैसला गरेको हो ।
मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको इजलासले आइतबार पाण्डेलाई दुई महिना कैद र २० हजार जरिवानाको फैसला सुनाएको उच्च अदालत दीपायलका सूचना अधिकारी नरबहादुर नेगीले बताए ।
पाण्डेलाई जिल्ला अदालत कैलालीले २०७७ मंसिर ३० गते पाँच सय रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत दीपायलले दुई महिना कैद फैसला सुनाएको हो ।
पाण्डेविरूद्ध पतिराम सोबसहित चार जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए । ‘जात करे उत्पात भनेको यही हो’ भन्दै वडलाई लक्षित गरी पाण्डेले सामाजिक सञ्जाल फेसबुक लेखेर जातीय विभेद गरेको आरोप लागेको थियो ।