काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारीले विज्ञापनमा आफ्नो तस्बिर राखेपछि अभिनेत्री प्रियंका कार्की प्रहरीकहाँ पुगेकी छन् । सामाजिक सञ्जालमा कार्कीको तस्बिरसहित विज्ञापन देखिएपछि प्रहरीले उनलाई सम्पर्क गरेको थियो । कार्कीले आफूले त्यस्तो विज्ञापन नगरेको सूचना प्रहरीलाई दिएकी थिइन् ।
‘मेरो फोटो प्रयोग गरेर क्रिप्टोकरेन्सीको एड बनाएको रहेछ । त्यसबारे छानबिन गर्न सघाउन उहाँहरूले मलाई बोलाउनु भएको हो,’ कार्कीले भनिन्,‘अहिले पनि यहीँ छु ।’ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि कार्कीसँग यस विषयमा कुराकानी भएको बताएको छ ।
‘उहाँको फोटो प्रयोग भएको क्रिप्टोकरेन्सीसम्बन्धी विज्ञापन सामाजिक सञ्जालमा देखिएपछि बोलाएर खबर गरेका थियौं,’ ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले भने,‘उहाँसँग अहिले कुरा भइरहेको छ ।’
नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी छ । फागुन ३० गते नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा क्रिप्टोकरेन्सी कारोबार हुने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको थियो । प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले त्यस्ता एपहरूलाई नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसएबल तथा कालोसूचीमा राख्न निर्देशन दिइएको हो ।
नेपालमा अहिले क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा तथा गैरकानुनी क्रियाकलाप गरी आर्थिक अपराध बढेको भन्दै सूचना तथा प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयले निषेध, डिसएबल तथा कालोसूचीमा राख्न प्राधिकरणलाई पत्राचार गरेको थियो ।
‘मन्त्रीस्तरीय निर्णय कार्यान्वयनका लागि आएपछि हामीले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई क्रिप्टोकरेन्सीमा प्रयोग हुने सबै एप बन्द गर्न निर्देशन दिएका हौं,’ मिश्रले भने ।
गैरकानुनी तरिकाले विदेशी मुद्रा विनिमय हुन थालेपछि वैदेशिक मुद्रा सञ्चित घट्दा अर्थतन्त्रमा प्रतिकूल असर परिरहेको भन्दै अर्थ मन्त्रालय, राष्ट्र बैंकलगायत निकायहरूबाट क्रिप्टोकरेन्सीबारे अध्ययन भइरहेको छ । अर्थ मन्त्रालयको कार्यदलले क्रिप्टोकरेन्सीबारे छानबिन गरी प्रतिवेदन लेखिरहेको छ ।
यस्तै, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजश्व अनुसन्धान विभागले पनि छुट्टै कार्यदल गठन गरेर छानबिन गरिरहेका छन् ।