काठमाडौँ । आज विश्व क्षयरोग विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।
हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकोमा आर्थिक वर्ष २०७७र७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएका थिए ।
बाँकी बिरामी उपचारको पहुँचबाट बाहिर रहेको जनाइएको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरका अनुसार नेपालमा वार्षिक नयाँ र पुराना गरी एक लाख करिब १७ हजार क्षयरोगका बिरामी छन् । तीमध्ये २८ हजार ६७७ जनाले मात्र रोग उपचार गराएका छन् ।
यसका आधारमा अझै पनि ७५।४८ प्रतिशत क्षयरोगका बिरामी उपचार सम्पर्कबाट बाहिर छन् । उपचार गराउन आएकामध्ये ९१ प्रतिशत बिरामी निको भएर जाने गरेको उनले बताए । तीमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र सात प्रतिशत बालबालिका रहेका छन् ।
‘जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै आएका छैनन्’, उनले भने, ‘ती बिरामीलाई सम्पर्कमा ल्याएर उपचार गर्नु चुनौतीपूर्ण रहेको छ ।’
सरकारले औषधि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । क्षयरोग नियमित उपचारले निको हुने गर्दछ । औषधी प्रतिरोधी क्षयरोगका बिरामी वार्षिक दुई हजार २०० रहेका छन् । यो सङ्ख्या जनसङ्ख्याको हिसाबले नेपालमा अत्यन्त धेरै हो ।