logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य

    नेपालले पीएनजीलाई दियो २७९ रनको लक्ष्य

    2.1K
    Shares

    काठमाडौं । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेपालले पपुवा न्यु गिनी  (पीएनजी) लाई २७९ रनको लक्ष्य दिएको छ । दीपेन्द्र सिंह ऐरीको शतक मद्दतमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २७८ ।

    नेपालका लागि दीपेन्द्रले १०५ रन बनाए । यस्तै देव खनालले ७२ रन बनाए भने रोहित पौडेलले ३५ र भिम शार्कीले २६ रन बनाए । कप्तान सन्दीप लामिछानेले लेट केमियो खेल्दै अविजित २४ रन बनाए । मिडल अर्डरले उत्कृष्ट ब्याटिङ गरेको इनिङ्समा नेपालको सुरुवात भने राम्रो हुने सकेन । नेपालले तीन ओभर भित्र दुवै ओपनरलाई गुमाएको थियो ।

    कुशल भुर्तेल इनिङ्सको पहिलो बलमै रोएल डक आउट भए । खेलको पहिलो इनिङ्सको पहिलो बलमै आउट हुने खेलाडीलाई रोएल डक भनिन्छ । पीएनजीका अलेइ नाओको बलमा लेगा सिएकाले कुशललाई सर्ट लेगमा क्याचआउट गराएका हुन् । यस्तै अर्का ओपनर अनिल शाह तेस्रो ओभरको पहिलो बलमा १ रन बनाएर आउट भए । नाओले नै अनिललाई विकेटकिपर सिमोन अटाईबाट क्याचआउट गराए ।

    पावर प्लेमा नेपालले २ विकेट गुमाएर ३१ रन बनाएको थियो । दुवै ओपनर आउट भएपछि देव खनाल र दीपेन्द्र सिंह ऐरीले नेपालको इनिङ्स सम्हालेका थिए । देव र दीपेन्द्रले तेस्रो विकेटका लागि कीर्तिमानी शतकिय साझेदारी गरे ।

    यी दुईले २८.१ ओभर सँगै खेल्दै १२९ रनको साझेदारी गरे । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि गरेको यो सर्वाधिक साझेदारी गरे । यसअघि शुक्रबार पीएनजी विरुद्धकै खेलमा रोहित पौडेल र आरिफ शेखले पाँचौ विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए ।

    देव र दीपेन्द्र दुवैले अर्धशतक बनाएपछि नेपालको रन गति बढेको थियो । अघिल्लो खेलमा पीएनजी विरुद्ध डेब्यु गरेका देव खनालले दोस्रो खेलमा आएर पहिलो अर्धशतक बनाएका हुन् । उनले ८६ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।

    त्यसपछि दीपेन्द्रले रोहित पौडेलसँग चौथो विकेटका लागि अर्धशतकिय साझेदारी गरे । चौथो विकेटका लागि दीपेन्द्रसँग ५८ रनको साझेदारी गरेपछि रोहित ४० औं ओभरमा आउट भए । रोहितलाई चाड सपरले बोल्ड गरे । अघिल्लो खेलका शतकधारी रोहितले ३६ बल खेल्दै ३ चौका मद्दतमा ३५ रन जोडे । त्यसपछि दीपेन्द्रले पाँचौ विकेटका लागि भिम शार्कीसँग ५५ रनको साझेदारी गरे ।

    ४७ औं ओभरमा शतक पूरा गरेका दीपेन्द्र अर्को ओभरमा आउट भए । उनले १४० बल खेल्दै ७ चौका मद्दतमा १०५ रन बनाए । ४८औं ओभरमा नेपालले दीपेन्द्रसहित तीन विकेट गुमायो । दीपेन्द्रलाई चाड सोपरबाट क्याचआउट गराएका पीएनजीका नोर्मन भानुअले अर्को बलमा भिम शार्कीलाई बोल्ड गर्दै लगातार दुई विकेट लिए । भिमले १९ बल खेल्दै १ चौका र १ छक्कामा २६ रन जोडे । त्यही ओभरको अन्तिम बलमा भानुअले ४ रन बनाएका आरिफ शेखलाई रनआउट गरे ।

    नेपालको विकेट जाने क्रम रोकिएन । ४९औं ओभरको पहिलो बलमा पवन सर्राफ खाता नखोली आउट भए । उनलाई नाओले विकेटकिपर सिमोन अटाईबाट क्याचआउट गराए । नेपालले ७ बलको अन्तरमा ४ विकेट गुमाएको थियो । त्यसपछि कप्तान सन्दीपले लेट केमियो खेले । उनले ९ बल खेल्दै २ चौका र १ छक्का सहित अविजित २४ रन बनाए ।

    अन्तिम ओभरको तेस्रो बलमा पीएनजीका फिल्डरले सन्दीपको क्याच ड्रप गरेका थिए । सन्दीपले अन्तिम ओभरको सबै ६ बल खेल्दै १६ रन जोडेका थिए । बलिङमा पीएनजीका लागि अलेइ नाओले ३, नोर्मन भानुअले २ तथा चाड सपर र चार्ल्स अमिनीले समान १ विकेट लिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend