काठमाडौं । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारी गरेका छन् । नेपाल प्रहरीका पूर्वडिआइजी रहेका खरेलले यसबारे पार्टीभित्र आन्तरिक छलफल समेत गरिरहेका छन् । वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर उठ्नेबारेमा खरेल सकारात्मक रहेको बताइएको छ ।
खरेल आफैंले औपचारिक निर्णय नभए पनि काठमाडौंको मेयर उठ्ने विषयलाई नकार्न नसकिने बताए । ‘साथीभाइसँग पार्टीभित्र पहिले छलफल गर्छु, अहिले निर्णय भएको केही पनि छैन,’ उनले भने, ‘नकार्न चाहिँ सकिँदैन ।’
गत पुसमा खरेलले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए । त्यसयता उनी सो पार्टीको संगठन विस्तारमा छन् । खरेलले २०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए ।
सरकारले अर्का डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील थिए । अभियानलाई पार्टीमा रूपान्तरण गरेका खरेल प्रहरीमा सेलिब्रिटी छवि बनाएका भ्रष्टाचारविरोधी अभियन्ता हुन् ।