काठमाडौं । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता–पत्र तयारीबारे ‘भर्चुअल कार्यशाला’ आयोजना गरेको छ । कार्यशालालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।
अध्यक्ष ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा एमालेका सरकारहरूले गरेका कामहरू लिएर जनतामा जान निर्देशन दिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
‘गठबन्धन उहाँहरूको छनोट होइन, बाध्यता हो । बाघ देख्यो भने हरिण कुद्छ । यो हरिणको कुनै छनोट होइन, बाध्यता हो । नत्र त बाघले खाइहाल्छ ।’ उनले भने ।
एमाले एक पार्टी र अरु सबै एक पार्टी भएकाले कुनै दुविधाविना निर्वाचनमा होमिन पनि ओलीको निर्देशन थियो । कार्यशालामा प्रतिबद्धता–पत्र मस्यौदा समितिका संयोजक तथा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता–पत्रका सैद्धान्तिक पक्षमाथि जानकारी दिएका थिए भने मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता–पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गरेका थिए ।
कार्यशालमा स्थायी कमिटीका सदस्यहरू, प्रदेश कमिटी र जिल्ला कमिटीका पदधिकारीहरू र एमालेबाट निर्वाचित पालिका प्रमुखहरू सहभागी थिए ।