कास्की । पोखरा महानगरपालिकाले फेवातालसहित ९ वटा तालको मापदण्ड तोकेको छ । महानगरको कार्यपालिका बैठकले फेवातालको मापदण्ड ३० मिटर कायम गरेको हो । यसअघि ६५ मिटर मापदण्ड तोक्न सिफारिस भए पनि त्यसलाई घटाएर ३० मिटर कायम गरिएको हो ।
मापदण्ड तोक्नका लागि वडा नम्बर–१७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले दिएको सुझावका आधारमा मापदण्ड तोकिएको महानगरले जनाएको छ ।
यस्तै, बेगनास र रुपातालको मापण्दड ५५ मिटर कायम गरिएको छ । सरकारले यी तालहरुको मापदण्ड १ सय मिटर तोकेको थियो । तर स्थानीयलाई असर पर्ने भन्दै ५५ मिटरमा झारिएको हो । अरु साना तालको मापदण्ड भने २० मिटर कायम गरिएको छ ।
मापदण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।
पोखराका तालको मापदण्ड निर्धारण गर्ने थाहा पाएपछि जग्गाधनीले मेयर मानबहादुर जिसीसहितको जनप्रतिनिधिको टोलीलाई केही समय थुनेका थिए ।