काठमाडौं । सरकारको नेतृत्वकर्ता दल कांग्रेस केन्द्रीय समिति बैठकमा चितवनको भरतपुर महानगरपालिकाको प्रसंग झिकेर धेरै चर्चा भयो । केन्द्रीय सदस्य दिनेश कोइराला, टेकप्रसाद गुरुङ, अञ्जली श्रेष्ठलगायतले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै भनेका थिए, ‘कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न नपाएको १० वर्ष भयो । यो पटक हामी भरतपुर महानगर छोड्दैनौँ ।’
कांग्रेसभित्र सभापति देउवालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादीलाई छोडेर महानगरको नेतृत्व आफूले लिनुपर्ने दबाब छ । गुरुङले त बैठकमै भनेका थिए, ‘भरतपुरका २९ मध्ये २ वडा जितेको माओवादीलाई फेरि किन महानगरको नेतृत्वमा दोहो¥याउने ? रेणु उठे हाम्रै साथीहरूले भोट हाल्दैनन् । बाबु–छोरीलाई नै एकै ठाउँमा उठ्न दिएपछि के कांग्रेसीहरू ताली पिटेर बस्ने ?’
कांग्रेसभित्र यसपटक भरतपुर महानगरको नेतृत्व छाड्न नहुने मत बलियो बनिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महानगरको दाबी नछोड्ने बताए । बुधबार चितवन पुगेर प्रचण्डले भने, ‘महानगर र उपमहानगरमा केन्द्रबाटै गठबन्धन गर्ने निर्णय छ । यो हुँदा भरतपुरमा हाम्रो दाबी रहन्छ ।’
छोरी रेणु दाहाललाई यसपटक पनि महानगरको मेयर जिताउने प्रचण्डको इच्छा छ । माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार यसपटक पनि हालकी मेयर रेणु दाहाल नै मेयरमा उठ्ने बताउँछन् । ‘रेणु दाहालको नेतृत्वमा भरतपुरको पूर्वाधार विकासमा धेरै काम भए । यो अवधिमा भरतपुरलाई स्मार्ट सिटी बनाउने लक्ष्य भने अधुरै रह्यो । यसैलाई साकार बनाउन रेणुलाई नै उठाउन जिल्ला कमिटीमा सर्वसम्मति छ,’ उनले भने ।
कांग्रेसभित्र माओवादीलाई नछोड्न दबाब रहेकोबारे जानकार रहेको बताउँदै उनले भरतपुरमा एक्लै भए पनि रेणु मेयरमा भिड्ने बताए । ‘गठबन्धनको सहयोगी दलबाट असहयोग भए पनि हामी एक्लै उठ्नेछौँ,’ परियारले भने ।
भरतपुर महानगरपालिकाकी मेयर दाहालले व्यक्तिगत रूपमा आफूलाई दोहोरिने चाहना नभए पनि पार्टीले निर्णय गरे दाबी नछोड्ने बताएकी छिन् । ‘जनताले फेरि आउनुपर्छ भन्नुभयो र पार्टीले निर्णय ग¥यो भने उम्मेदवारी दिनु स्वाभाविकै हुन्छ तर व्यक्तिगत रूपमा म आफैँलाई भने दोहोरिने इच्छा छैन,’ दाहालले भनेकी छिन् ।
माओवादी केन्द्र चितवनका अध्यक्ष परियार मेयर दाहालले गरेको पूर्वाधार विकासका कारण माओवादीको पक्षमा लहर रहेकाले जित निश्चित रहेको दाबी गर्छन् । उनी भन्छन्, ‘भरतपुरको पूर्वाधार, पर्यटन र सामाजिक विकासमा कायापलट गरेकाले माओवादीको पक्षमा आकर्षण बढेको छ । जित निश्चित रहेकाले माओवादीको दाबी स्वाभाविक छ ।’
यता कांग्रेस नेताहरू माओवादीले आफूहरूलाई सहयोग नगरेकाले यसपटक कुनै पनि हालतमा भरतपुर नछोड्ने अडानमा छन् । भरतपुर आफूहरूको गढ पनि रहेकाले अब नछोड्ने उनीहरूको मत छ । नेविसंघका पूर्व उपसभापति तथा चितवन कांग्रेसका नेता रामप्रसाद अधिकारी यसपटक माओवादीले कांग्रेसलाई सघाउनुपर्ने बताउँछन् ।
‘हाम्रो गढमा हामीले माओवादीलाई छोडेर गल्ती गरिसक्यौँ । अब फेरि गल्ती दोहो¥याउन सक्दैनौँ । माओवादीलाई जिताए पनि हामीले सहयोग पाएनौँ । अब हामी छोड्दैनौँ,’ उनले भने । अधिकारी आफैँ पनि मेयरका दाबेदार हुन् ।
कांग्रेसबाट मेयरका लागि धेरै आकांक्षी छन् । आकांक्षीको सूचीमा पूर्वसभापति टेकबहादुर गुरुङ, दिनेश कोइराला, शंकर कँडेल, सूर्यकान्त घिमिरे, अञ्जली श्रेष्ठ, मिलनबाबु श्रेष्ठ, नीलकण्ठ रिजाललगायतले दाबी पेस गरिरहेका छन् । संगठनका हिसाबले कांग्रेस बलियो रहे पनि एक्ला–एक्लै प्रतिस्पर्धा हुँदा एमालेले उछिट्याउने कांग्रेस चितवनका एक नेताले बताए ।
‘माओवादीको चितवनमा बलियो संगठन छैन । संगठनका हिसाबले कांग्रेस र एमालेबीच प्रतिस्पर्धा बलियो हुने हो । मेयर दाहालले गरेको पूर्वाधार विकासका कारण उनीमाथि विश्वास गरेर भोट हाल्ने जमात पनि रहेकाले त्यसले कांग्रेसलाई जित्नबाट रोक्नसक्छ । एमालेले मेयर उछिट्याउने स्थिति आउनसक्छ,’ उनले भने ।
चितवनका २९ मध्ये २ वडामा विजयी माओवादीले कांग्रेसकै सहयोगमा मेयर दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गरेकी थिइन् । कांग्रेसमा भरतपुर माओवादीलाई नछोड्ने बलियो अडान आइरहेको बेला माओवादी केन्द्रका अध्यक्ष दाहालले भने गठबन्धनको बैठक बिहीबार बस्ने र भरतपुरको पक्षमा निर्णय गराउने दाबीसमेत चितवनमा गरेका छन् ।
देशभर ६ महानगर रहेकोमा एकीकृत समाजवादीले पोखरा वा काठमाडौंमध्ये एक आफूलाई छोड्न प्रस्ताव गरेको छ । विराटनगर वा वीरगञ्जमा संघीय समाजवादीले आफूलाई दिनुपर्ने माग गरिरहेको छ । यसपटक ललितपुर माओवादीलाई दिएर भए पनि भरतपुर आफैँले लिनुपर्ने मत कांग्रेसभित्र बलियो छ ।