चितवन । स्थानीय तह चुनावमा माओवादी केन्द्रले भरतपुर महानगर नछोड्ने भनिरहेको छ । चितवन पुगेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटक पनि भरतपुरमा आफ्नो पार्टीको दाबी रहने बताइसकेका छन् । तर, चितवन कांग्रेसले भने महानगरपालिकाकी मेयर रेणु दाहालले कांग्रेसलाई बारम्बार धोका दिएकाले यसपटक भरतपुर नछोड्ने बताइरहेको छ ।
आफ्नै गढमा पुगेर प्रचण्डले कांग्रेसी मतदातालाई बिझाउने गरी दिएको अभिव्यक्तिले चितवन कांग्रेस उनीसँग रुष्ट छ । १० चैतमा प्रचण्डले चितवनमा भनेका थिए, ‘जिल्लाका कांग्रेसीले भनेर केही हुँदैन । हाम्रो जित सुनिश्चित हुने गरी कांग्रेसँग गठबन्धनको निर्णय केन्द्रबाटै हुन्छ ।’
चितवन कांग्रेस संसदीय निर्वाचनमा माओवादीलाई सघाउन तयार छ तर महानगर गुमाउन तयार देखिँदैन । ‘हामी बाबुछोरीलाई नै जिताउन सक्दैनौँ । हाम्रो सहयोग पनि खोज्ने अनि हामीलाई नै धम्क्याउने ? माओवादीले के छोड्ने प्रस्ट प्रस्ताव ल्याउनुपर्छ,’ कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले भने ।
यता, मेयर रेणुसँग तीन कारणले कांग्रेस रुष्ट छ । पहिलो कार्यपालिकामा व्यहोरेको हार, दोस्रो जिल्ला समन्वय समितिमा प्रतिनिधित्व शून्य र तेस्रो कांग्रेसका योजनाप्रति देखाएको असहिष्णुता । ३० भदौ २०७४ मा भरतपुरको महानगरको कार्यपालिका गठनका निम्ति निर्वाचन भएको थियो । जसमा कांग्रेसले पाँच र माओवादीले तीन पद लिने सहमति गरेका थिए ।
५ महिला पदमा कांग्रेसले ४ र माओवादीले १ तथा दलित तथा अल्पसंख्यकतर्फ कांग्रेसले १ र माओवादीले २ पद लिने सहमति गरेक थिए । कुल १४७ मतदाता रहेको भरतपुरको नगर कार्यपालिकाको निर्वाचनमा सबैभन्दा बढी एमालेका मतदाता छन् ।
एमालेको ७०, कांग्रेसको ६९ र माओवादीको जम्मा ८ मत रहेको छ । कुल २९ वडामा एमालेले १४, कांग्रेसले १२ र माओवादीले ३ वडा अध्यक्ष पद जितेका थिए । ३९ सदस्यीय नगर कार्यपालिका गठनका लागि आवश्यक ८ जनाका लागि चुनाव भएको थियो । कार्यपालिकामा माओवादीले असहयोग गर्दा कांग्रेसका दुई जना विजयी भए भने एमालेका ६ जना निर्वाचित भए ।
चितवन कांग्रेसका युवा नेता तथा भरतपुर महानगर मेयरका दाबेदार नीलकण्ठ रिजाल माओवादीले आफ्ना उम्मेदवारलाई असहयोग गरेको बताउँछन् । ‘हाम्रै सहयोगले जितेको माओवादी केन्द्रले हामीलाई कार्यपालिकाको चुनावमा पनि धोका दियो । कार्यपालिकामा हामीलाई अल्पमतमा पारियो,’ उनले भने ।
यस्तै २५ असोजमा जिल्ला समन्वय समितिको निर्वाचन भएको थियो । त्यसमा कांग्रेसको प्रतिनिधित्व हुन सकेन । मेयरमा दाहाललाई जिताएर पठाए पनि उनैले असहयोग गरेको रिजाल बताउँछन् । ‘हामीले मेयरमा रेणु दाहाललाई जिताएर उनलाई मेयर बनायौँ । हामीले बनाएको मेयरले नै हामीलाई धोका दिनुभयो,’ उनले भने ।जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेका कृष्ण कुमार डल्लाकोटी निर्वाचित भएका थिए । कांग्रेसका भरत अधिकारीलाई पराजित गर्दै डल्लाकोटी विजयी बनेका थिए ।
कुल १४ मतमा एमालेका डल्लाकोटीले ११ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी अधिकारीले ३ मत मात्र ल्याएका थिए । यस्तै, उपप्रमुखमा पनि एमाले कै मुना कुमारी श्रेष्ठ विजयी भएकी थिइन् । कांग्रेसकी टीका दाहाललाई पराजित गर्दै श्रेष्ठ विजयी भएकी थिइन् । उनले ११ मत प्राप्त गर्दा दाहालले ३ मत प्राप्त गरेकी थिइन् । जिससको ९ सदस्यीय समितिमा कांग्रेसको प्रतिनिधित्व शून्य बन्यो ।
‘माओवादीले असहयोग गर्दा जिल्ला समन्वय समितिमा हाम्रा उम्मेदवार पराजित भए । प्रतिनिधित्व पनि शून्य भयो,’ नेता शंकर कँडेल भन्छन् । चितवन कांग्रेस यसपटक आफ्नो गढमा कांग्रेस आफैँले विकासको नेतृत्व लिन पाउनुपर्ने मत बलियो बन्दै गएको छ । भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरी महानगरले पूर्वाधारको पक्षमा काम गरे पनि कतिपय योजना अधुरै रहेको बताइन् ।
‘पूर्वाधारको विकासमा महानगरले काम नगरेको भन्न मिल्दैन तर भरतपुरलाई नमुना महानगर बनाउने नेतृत्व अब कांग्रेसले नै लिनुपर्छ । हामीले विगतमा माओवादी केन्द्रलाई सहयोग ग¥यौँ यसपटक उसले हामीलाई छोड्नुपर्छ,’ उनले भनिन् ।
मेयर दाहालले कांग्रेसीहरूको मतको कदर नगरेको नेताहरूको आरोप छ । ‘हाम्रो मत पाएर जितेपछि उहाँ केन्द्रीय राजनीति अनुसार होइन, स्थानीय आवश्यकता अनुसार चल्नुपर्थ्यो तर एमालेसँग गठबन्धन बनेपछि उहाँले कांग्रेसलाई पेल्ने काम गर्नुभयो । महागरलाई माओवादीमय बनाउन केन्द्रित हुनुभयो । हाम्रा उपमेयर र वडाध्यक्षका एजेण्डामा सहिष्णुता देखाउनुभएन,’ कांग्रेस केन्द्रीय सदस्य समेत रहेका टेकप्रसाद गुरुङ बताउँछन् ।
कांग्रेसले चितवनमा १३ वडा जितेको थियो । कांग्रेसका वडाध्यक्षका एजेण्डामा दाहालले सहयोग नगरेको गुरुङको आरोप छ । ‘हाम्रा १३ वडाध्यक्षमध्ये अधिकांशका एजेण्डामा उहाँले साथ दिनुभएन । हामीले जितायौँ, हामीलाई नै उहाँले बेवास्ता गर्नुभयो,’ गुरुङले भने ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष अमृतराज दाहाल धाएर दबाब दिएपछि मात्रै विकासका एजेण्डामा सघाएको अनुभव सुनाउँछन् । ‘भरतपुरको विकासको निम्ति रेणु दाहालले काम नै नगरेको भन्न मिल्दैन । तर, हाम्रा एजेण्डा कार्यान्वयनका लागि निकै दबाब दिनुप¥यो,’ दाहालले भने ।
केन्द्रमा एमालेसँग गठबन्धन भएपछि रेणुले आफ्नो धर्म निर्वाह गरेको दाहाल बताउँछन् । ‘भरतपुरमा कांग्रेसबाटै कमजोरी भएका कुरालाई पनि स्वीकार गर्नुपर्छ । केन्द्रमा फरक गठबन्धन बनेपछि रेणु दाहालले गठबन्धन अनुसार चल्ने धर्म निर्वाह गरिन् । लोकतान्त्रिक दल कांग्रेस भरतपुरमा मतपत्र च्यातिँदा साक्षी बस्नु नै ठूलो गल्ती हो,’ दाहालले भने ।
मेयर दाहाल आफूमाथि लागेको असहिष्णुताको आरोप स्वीकार गर्दिनन् । ‘भरतपुरको विकासका लागि मैले दलीय पूर्वाग्रह राखेको छैन, पूर्वाधार विकासमा सबै वडालाई सहयोग गरेको छु,’ उनले दाबी गरिन् ।
माओवादीले आफूहरूलाई धोका दिएको भन्दै सत्ता गठबन्धनबाट यसपटक भरतपुर महानगरपालिकाको नेतृत्व कांग्रेसले नै पाउनुपर्ने मत कांग्रेसभित्र बलियो बन्दै गएको छ । माओवादी केन्द्रले पनि भरतपुर नछोड्ने जिकिर गर्दै आएको छ । सत्ता गठबन्धनले पाँच दलीय संयन्त्र बनाएर २२ चैतभित्र केन्द्रमा प्रतिवेदन पठाउन भनेको छ । त्यही प्रतिवेदनका आधारमा तालमेलको निर्णय गर्ने सहमति सत्ता गठबन्धनले गरेको छ ।