काठमाडौँ । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दैछन् । खेल दिउँसो १२ः३० मा टियु क्रिकेट मैदान सुरु हुनेछ ।
नेपाल अपराजित रहँदै सिरिज उपाधि जित्न चाहन्छ । तर, पीएनजी पनि सोही दाउमा हुनेछ । नेपालले लिग चरणका चार खेलमा नै सहज जित निकाल्दै उपाधि यात्रा तय गरेको थियो । त्यसकारण पनि नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । नेपाललाई आज पीएनजीलाई स्तब्ध पार्दै एकदिवसीय सिरिजको बदला लिने मौका पनि छ । घरेलु मैदानमै यसअअघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज पीएनजीले २-० ले क्लिन स्विप गरेको थियो ।
पछिल्ला खेलमा नेपालको बलिङ र ब्याटिङको उच्च प्रदर्शन भैरहेको छ । जसलाई मलेसियाविरुद्ध दीपेन्द्रसिंह ऐरीको शतक प्रहार र पीएनजीविरुद्ध नै करण केसीको ह्याट्रिकसहित ५ विकेटले देखाउँछ । नेपालले पछिल्ला दुई इनिङमा लगातार २ सय माथिको योगफल बनाएको छ । फाइनलमा पनि उच्च लयमा रहेका यी खेलाडीबाट नै नेपालले आश गरेको छ ।