logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • दीपेन्द्र त्रिकोणात्मक टी–२० श्रृंखलाको म्यान अफ दि सिरिज घोषित

    दीपेन्द्र त्रिकोणात्मक टी–२० श्रृंखलाको म्यान अफ दि सिरिज घोषित

    3.4K
    Shares

    काठमाडौं । दीपेन्द्र सिंह ऐरी त्रिकोणात्मक टी–२० श्रृंखलाको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल, पपुवा न्यूगिनी (पीएनजी) र मलेसिया सम्मिलित श्रृंखलामा नेपाललाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ दि सिरिज घोषित भए ।

    उनले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् । दीपेन्द्रकै अलराउण्ड प्रदर्शनमा नेपालले सोमबार पीएनजीलाई फाइनलमा ५० रनले हराएर अपराजित रहँदै श्रृंखलाको उपाधि जितेको हो ।

    उनले फाइनलमा ब्याटिङमा अविजित ५४ रन र बलिङमा ४ विकेट लिए । दीपेन्द्रले श्रृंखलाभर ५ खेल खेल्दै १ शतक र २ अर्धशतक प्रहार गर्दै सर्वाधिक २५५ रन बनाए ।

    उनले फाइनलमा २१ रन जोड्दा टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन समेत पूरा गरे । उनी नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा हजार रन पूरा गर्ने पहिलो खेलाडी समेत हुन् । दीपेन्द्रले श्रृंखला अन्तर्गत लिगको अन्तिम खेलमा मलेसिया विरुद्ध अविजित ११० रन बनाएका थिए ।

    पहिलो खेलमा पीएनजी विरुद्ध ४ रनमै आउट भएका उनले दोस्रो खेलमा मलेसियाविरुद्ध २१ रन बनाएका थिए । त्यसपछि तेस्रो खेलमा पीएनजी विरुद्ध ६६ रन बनाएका थिए । यस्तै दीपेन्द्रले श्रृंखलामा ५ खेलमा ७ विकेट लिए । फाइनलमा उनले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिएका थिए । टी–२० मा दीपेन्द्रको यो उत्कृष्ट बलिङ फिगर समेत हो ।

    यसअघि उनले फेब्रुअरीमा ओमानमा भएको चारदेशीय टी–२० श्रृंखलामा आयरल्याण्डविरुद्ध ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिएका थिए । दीपेन्द्रले अघिल्लो साता भएको पीएनजी विरुद्धको एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा १०५ रन बनाएका थिए । त्यसअघि पहिलो खेलमा १५ रन बनाएका थिए ।

    नेपालमा खेल्नुअघि युएईमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टू मा बिर्सनलयाक प्रदर्शन गरेका दीपेन्द्रले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरे । युएईमा भएको लिग मा टू मा दीपेन्द्रले चार खेलमा क्रमशः ८, ४, ०, ० मा आउट भएका थिए ।

    यस्तै नेपालका करण केसी बेस्ट बलर घोषित भए । उनले श्रृंखलामा एक ह्याट्रिकसहित सर्वाधिक १३ विकेट लिएका थिए । करणले लिगमा पीएनजी विरुद्धको एउटै खेलमा ह्याट्रिकसहित ५ विकेट लिएका थिए ।

    यसैगरी पीएनजीका टोनी उरा बेस्ट ब्याटर घोषित भए । उराले श्रृंखलामा दुई अर्धशतकसहित १९० रन बनाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend