काठमाडौं । लमजुङ जिल्लामा क्रियाशील सत्ता गठबन्धनका दलहरुले आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी (जसपा) का जिल्ला नेतृत्वहरुको बैठकले लमजुङका आठ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो ।
बैठकका निर्णयबारे जानकारी दिन जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति डा.टकराज गुरुङ, नेकपा माओवादी केन्द्रका संयोजक मधु अधिकारी (गुरुङ), एकीकृत समाजवादीका अध्यक्ष रामबाबु अधिकारी र जसपाका अध्यक्ष गमबहादुर तामाङले हस्ताक्षर गरेका छन् ।
बैठकले कांग्रेस जिल्ला सभापति गुरुङको नेतृत्वमा जिल्ला संयन्त्रसमेत बनाएको छ । संयन्त्रमा माओवादी, एकीकृत समाजवादी र जसपाका नेतृत्व छन् । जिल्लाका आठ वटै पालिकाहरुमा गठबन्धनको संयन्त्र बनाउने निर्णय पनि बैठकले गरेको छ ।
पालिकास्तरीय संयन्त्रको नेतृत्व नेपाली कांग्रेसका पालिकाका सभापति र सदस्यहरुमा सम्बन्धित पालिकाका गठबन्धन दलका अध्यक्ष वा प्रमुख रहेका छन् ।
बैठकले गठबन्धनको मर्म र भावना अनुरुप सुमधुर सम्बन्ध कायम गर्न, गठबन्धन विरोधी आरोप प्रत्यारोप नगर्न, सामाजिक सन्जाल लगायत सञ्चारका माध्यमबाट गालीगलौज नगर्न आ–आफ्ना दलका नेता–कार्यकर्ताहरुलाई अपिलसमेत गरेको छ ।