काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारलाई गधाको संज्ञा दिएका छन् । बुधवार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जंगलको गधाको कथा सुनाउदै धुमाउरो पारामा गठबन्धनलाई गधाको संज्ञा दिएका हुन् ।
‘जंगलमा एउटा कुरामा सबैैजना हाँसे तर गधा निन्याउरो भएर बस्यो । भोलिपल्ट गधा एक्लै पेट मिचि मिचि हाँस्न थाल्यो । अन्य जनावरले यो किन हास्यो भनेर बुझ्दा त गधाले हिजोको कुरा आज बल्ल बुझेर हाँसेको रैछ ।’ उनले भने– ‘यो सरकार, यो गठबन्धन पनि त्यस्तै हो ।’
प्रधानमन्त्री शेर बहादर देउवाले मंगलबार उद्धाटन गरेको सुख्खा बन्दरगाहाको प्रसंग निकाल्दै ओलीले सुख्खा बन्दरगाहा शिलान्यास गर्ने बेला कांग्रेसले अवरोध गरेर जबरजस्ति उद्धाटन गरेको हो । हिजो प्रधानमन्त्रीले उद्धाटन गर्दा बन्दरगाहा राम्रो भन्नुभयो ।
शिलान्यास गर्दा नबुझेर विरोध गरेको कांग्रेसले उद्धाटन गर्ने बेला बुझेको भन्दै यो सरकारले ढिलो बुझ्ने बताए ।
अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताए ।
उनले बैंकसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश देश संकटमा रहेको बताए । उनले भने – ‘खल्तीमा कसैको पैसा हुँदैन । बैंक त्यसैकारण खोलेका हुन् ।
कुनैपनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ । दिनुपर्छ बैंकले । नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैंक पैसा दिन सक्दैन । बैंक पैसा दिन सक्ने अवस्थामा छैन । यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जतिदिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ ।’
अध्यक्ष ओलीले गठबन्धन सरकार कुहिएर झर्ने बताए । उनले सरकार ढाल्न आफुहरुले कोसिस नगर्ने स्पष्ट पारे । एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको उनले बताए । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।