काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगर कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक÷एक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ ।
जस अनुसार निकै चासोको रुपमा हेरिएको भरतपुर महानगरपालिका माओवादीले पाउने भएको छ । पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउनेछ भने जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउनेछ ।
नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एक नेताले जानकारी दिए । सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने उनले बताए ।