म्याग्दी । म्याग्दीमा स्थानीय तहको निर्वाचन २०७९ मा जिल्लाका तीन जना महिलाले विभिन्न राजनीतिक दलबाट पालिका प्रमुख (अध्यक्ष) को पदमा उम्मेदवारी दिएका छन् । नेकपा (एमाले)को तर्फबाट धवलागिरि गाउँपालिकाको अध्यक्षमा थमसरा पुन, नेकपा (माओवादी) केन्द्रको तर्फबाट रघुगङ्गा गाउँपालिकामा मीना विक र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालिकाको प्रमुखमा मीनाकुमारी शर्मा सापकोटाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।
धवलागिरि गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिई पुनः नेकपा एमालेको तर्फबाट अध्यक्षकै उम्मेदवार बन्नुभएकी पुन २०७४ सालको स्थानीय तहको निर्वाचनबाट एक्ली महिला पालिका प्रमुखमा निर्वाचित हुनुभएको थियो । पुन पुनः पालिका प्रमुखको उम्मेदवारमा दोहोरिनु भएपनि नेकपा माओवादी केन्द्र र राप्रपाले भने नयाँ अनुहारलाई पालिका प्रमुखको उम्मेदवार बनाएको हो ।
विसं २०७४ को निर्वाचनमा नेकपा एमालेसँग तालमेल गरी बेनी नगरपाकिलाको उपप्रमुख जितेको राप्रपाले यस पटक आफ्नै पार्टीको चुनाव चिन्ह् हलोबाट निर्वाचनमा सहभागी हुन प्रमुख र उपप्रमुख नै मैदानमा उतारेको छ । राप्रपाले प्रमुखमा महिलालाई अगाडि सारे पनि उपप्रमुखमा भने पूर्व जिल्ला अध्यक्ष एवं क्षेत्रीय सदस्य एकेन्द्रबहादुर रावललाई उम्मेदवार बनाएको छ ।
त्यस्तै माओवादी केन्द्रले समेत वडाअध्यक्षबाट राजिनामा दिएका रिम कटुवाललाई रघुगङ्गा गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएर महिलालाई अध्यक्षको उम्मेदवार बनाएको हो ।
अन्नपूर्णका उम्मेदवार मत माग्दै घरघरमा
आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको उम्मेदवार बन्नुभएका उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन् । उम्मेदवारी दर्ता गरेसँगै मत माग्न र जनताको आवश्यकता बुझ्न अन्नपूर्णका कांग्रेसका उम्मेदवार घरदैलो अभियान र प्रचारप्रसारमा लागेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरतबहादुर रोकालले जानकारी दिए ।
“हामी जनताको घरदैलोमा पुगेर पहिलो चरणमा टोल टोलमा कोणसभा गर्ने र घरदैलोमा नै गएर जनताको आवश्यकता बुझ्न थालेका छौँ”, अध्यक्ष पदका उम्मेदवार बन्नुभएका क्या बलबहादुर तिलिजाले भने । पालिकाको वडा नं ७ हिस्तानको औलमा कोण सभामा बोल्दै अध्यक्षका प्रत्यासी तिलिजाले यसपाली पालिका र वडामा कांग्रेसलाई मत दिएर जिताउन अनुरोध गर्दै जनताको सेवा गर्नका लागि आफू पालिका अध्यक्षको उम्मेदवार बनेको बताए । कांग्रेसले चुनावी अभियानलाई तीव्रता दिएको छ । यस पटक अन्नपूर्ण पालिकामा कांग्रेसले क्या। तिलिजालाई अध्यक्ष र ललिता तिलिजा पुनलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।