काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार केशव स्थापित सबै पार्टी डुलेर पुनः दौरा सुरुवाल लगाएर एमालेबाट मेयर बन्न आएको बताएका छन् । स्थापितलाई यसरी डुलेको बारेमा काठमाडौंका मतदाताले प्रश्न गर्नुपर्ने उनले बताए ।
उनले भने – ‘काठमाडौंको मेयर हुन्छ । त्यसलाई छोडेर गएर माओवादीको प्राधिकरणको प्रमुख हुन्छ । त्यसलाई छोडेर गएर प्रजा परिषद् पार्टी खोल्छ । त्यसलाई छोडेर गएर संघीय परिषद्को उम्मेदवार हुन्छ । त्यहाँबाट फन्को मारेर नाच्दै, गाउँदै अहिले एमालेको उम्मेदवार हुन्छ । उसलाई कसैले प्रश्न गर्दैन । ऊ हुन पाउने । ऊ एमाले पनि हुन पाउने, माओवादी पनि हुन पाउने, राजावादी पनि हुन पाउने । घुम्न पाउने, बस्न पाउने, उठ्न पाउने, नाच्न पाउने अहिले फेरी आएर दौरा सुरुवाल लगाएर आएर मै हो पनि भन्न पाउने । तर एउटा महिला नेविसंघमा काम गरेर, आन्दोलन गरेर, परिवारको जिम्मेवारी वहन गरेर, म पनि आउँछु, मैदानमा लड्छु । मनोनित गरेको पद होइन, चुनाव नै लडेर, भोट मागेर निर्वाचित हुने कोसिस गर्छु भन्दै गर्दा उसले चाहीँ जवाफ दिनुपर्ने । उसले चाहीँ उत्तर दिनुपर्ने ?’
महामन्त्री थापाले एमालेले अघिल्लो निर्वाचनमा गरेको प्रतिवद्धतालाई पुरा नगरेर मतदाता र काठमाडौंबासिलाई हेपेको बताए ।