स्याङ्जा – नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् वडा सदस्यमा भारी मतका साथ पराजित भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका–१ मा वडा सदस्यमा उमेद्वारी दिएका अर्यालका श्रीमान् लक्ष्मीपति पौडेल नेपाली कांग्रेसका सम्भव अर्यालसँग पराजित भएका हुन् । एमाले सचिवकै श्रीमानले वडा सदस्य समेत जित्न नसकेको भन्दै स्याङ्गजामा विभिन्न चर्चा परिचर्चा हुन् थालेको छ। भने पटकपटक मन्त्री बनेकी अर्यालले आफ्नै श्रीमानलाई समेत जिताउन नसकेपछि उनको चर्को आलोचना भएको छ।
गण्डकी प्रदेशको इन्चार्ज समेत रहेकी अर्यालले शक्तिको भरमा मिहनेती कार्यकर्ता छोडेर श्रीमानलाई टिकट बाड्दा पनि जिताउन नसकेको भनेर एमालेकै कार्यकर्ताले समेत प्रश्न उठाउन थालेका छन्।
तर लक्ष्मीपतिले भने हारलाई सहर्ष स्वीकार्य गर्दै ‘चुनावमा गएपछि हार–जित भैहाल्छ । जितेको अवस्थामा जनताकै काम गर्ने हो, हारेको अवस्थामा जितेकालाई जनताको काम गर्न लगाउने हो । सबै साथीहरू धैर्य बनौं,’ पराजित भएपछि पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।
वडा १ मा १८३४ मत खसेको थियो । विजयी अर्यालले १ हजार ११२ मत ल्याएका छन् । पराजित पौडेलले ६४५ मत पाए । वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ ।