खोटाङ । काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन साहको जित–हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका विजय फुयाल र रमेश खड्का सोमबार पक्राउ परेका हुन् ।
यस्तो बाजी गैरकानुनी भएकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।
साहले चुनाव जिते फुयाललाई खड्काले २८ किलोको खसी दिनुपर्ने र चुनावमा साह पराजित भए फुयालले २८ किलोकै खसी खड्कालाई तिर्नुपर्ने भन्नेबारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएको थियो । यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने उनीहरूद्वारा गरिएको तमसुकमा उल्लेख गरिएको छ ।