काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य राजिव पहारीले आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन निरन्तर खट्दा चरित्र हत्या गर्ने षडयन्त्र भएको भन्दै आपत्ति जनाएका छन् ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन लागेको भन्दै विभिन्न संचार माध्यमहरूमा सार्वजनीक समाचारहरूप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै पहारीले आपत्ति जनाएका हुन् ।
उनले कसैका केही व्यक्तिगत वार्ताहरूमा अनावश्यक रूपमा आफ्नो नाम लिएर गरिएका क्रियाकलापहरूप्रति घोर भ्रत्सना गर्दै आफ्नो स्वकीय सचिव भनेर संचारमाध्यमहरूमा प्रचारित मनोज पहारी भन्ने व्यक्ति कुनै पनि समयमा आफुसँग सम्बन्धीत नरहेको र सचिवालयमा कार्यरत नभएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यमहरूमा प्रकाशित÷प्रसारित अडियो रेकर्डमा असम्बन्धीत मान्छेले नाम उच्चारण गर्दैमा सत्यतत्थ नबुझी हचुवाको भरमा समाचार सम्प्रेसण नगर्न पनि आग्रह गरे ।
गण्डकी प्रदेश सभा सदस्य समेत रहेका पहारीले षड्यन्त्रको हल्ला फिजाउँन सक्रियहुने जोसुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारवाही गर्न आफ्नो पार्टीलाई आग्रह गर्दै निराधार हल्ला र भ्रमको पछि नलाग्न पनि कार्यकर्तालाई अपिल गरेका छन् ।