काठमाडौं । पछिल्लो २ साता यता नेपालमा लगातार पानी परिरहेको छ ।
त्यसैले कतै नेपालमा मनसुन सुरू भएको होइन ? भन्ने जिज्ञासा धेरैको मनमा उठेको छ ।
नेपालमा सामान्यतया मनसुन जुनको दोस्रो साता अर्थात जुन १३ बाट सुरु हुने विश्वास गरिन्छ । तर हरेक वर्ष ठिक यही समयमा मनसुन सुरु हुन्छ भन्ने हुँदैन। यो मितिभन्दा केही दिन अगाडि र केही दिन पछाडि पनि हुनसक्ने मौसमविद्हरू बताउँछन् ।
जल तथा मौसम विज्ञान विभागले मनसुनबारे मौसमी प्रणालीमा अध्ययन भइरहेको जनाएको छ। नेपालमा अहिले नै मनसुन सुरू नभएको मौसमविद् राजु प्रधानाङ्गले जानकरी दिए ।
हामी अहिले मौसमी प्रणालीको अध्ययन गरिहरेका छौं। अहिले नै मनसुन भित्रिएको छैन। केही दिन लाग्नसक्छ,’ मौसमविद् प्रधानाङ्गले बताए ।
सामान्यतः भारतको केरलामा मनसुन सुरू भएको सातादेखि १० दिनभित्र नेपालमा पनि आइपुग्छ मौसमविद् बताउँछन्।
‘केरलामा मनसुन सुरू भइसकेको छ। अब नेपालमा कति समयमा आउँछ, त्यो हामी अध्ययन गरिरहेका छौं,’ उनले भने ।
नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपासमा रहेको न्यूनचापीय रेखा तथा पश्चिमी वायुको प्रभाव रहेको छ।
स्थानीय वायुको प्रभाव रहेको मौसमी प्रणालीमा कुनै पनि समय मौसममा बदली भएर हावाहुरी तथा चट्याङसहित क्षणिक वर्षा हुन्छ। यो मौसमी प्रणालीमा लामो समय पानी पर्दैन।
मनसुन सुरु भएपछि भने लामो समय देशका धेरै स्थानमा पानी पर्छ। पानी पर्दा खोला तथा नदीमा पानीको बहाव बढ्ने तथा बाढी आउने हुनसक्छ। यस वर्ष तुलनात्मक रुपमा बढी वर्षा हुने मौसमविदहरुले प्रक्षेपण गरेका छन् । त्यसैले यसवर्ष तराईका भूभागमा अझ बढी सतर्कता अपनाउनुपर्ने उनीहरुको भनाइ छ ।