काठमाडौं । रुसले युक्रेनको दक्षिणी भेगका दुई शहरमा कब्जा जमाएको रुसले स्थानीयलाई रुसी पासपोर्ट वितरण गर्न सुरु गरेको छ ।
युक्रेनको खेरसन र मेलिटोपोल शहरका स्थानीयलाई रुसले रुसी पासपोर्ट वितरण गर्न सुरु गरेको हो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो प्रक्रियालाई तीव्रता दिइरहँदा युक्रेनले भने रुसको यो कदमको विरोध गरेको छ ।
रुसी समाचार एजेन्सी तासले शनिबार एक समारोहबीच २३ जना खेरसनका नागरिकलाई रुसी पासपोर्ट वितरण गरेको जानकारी दिएको छ । समाचार एजेन्सीले हजारौँले रुसी पासपोर्टका लागि निवेदन दिएको दाबीसमेत गरेको छ ।
खेरसनमा रुसले नियुक्त गरेको गभर्नर भोलोदिमिर साल्डोले चाँडोभन्दा चाँडो ‘खारसेनका सबै कमरेड’ हरूले पासपोर्ट र रुसी नागरिकता प्राप्त गर्ने बताए । युक्रेनले भने रुसको यो कदम कानुनीरुपमा शून्य मानिने बताएको छ ।