logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य होः प्रधानमन्त्री देउवा

    गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य होः प्रधानमन्त्री देउवा

    2.8K
    Shares
    गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य होः प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन् । मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गरेको स्व.नेता गिरिजाप्रसाद कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा भएका राजनीतिक समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका हुन् ।

    उनले एउटै पार्टीमा पनि समस्या हुने गरेको भन्दै गठबन्धनमा आएका कुर्सीका समस्याहरुलाई सामान्य रुपमा लिन आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले मोरङको विराटनगरमा रहेको भवनलाई स्व. नेता गिरिजाप्रसाद कोईरालाको नाममा संग्रहालय बनाउने कुरा स्वागतयोग्य रहेको बताए । उनले संग्रहालय बनाउने कुरामा सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता जनाए ।

    प्रधानमन्त्री देउवाले भने, ‘मोरङ, विराटनगरमा एउटा उहाँको भवन छ त्यसलाई उहाँकै नाममा बनाउने कुरा छ । यो राम्रो हो, खुशीको कुरा हो । नेपालमा उहाँले आन्दोलन गरेको ठाउँमा भवन छ भने बनाउनु के आपत्तिको कुरा भयो र ? हामी यसमा सहयोग र पहल गर्ने नै छौँ । धनराजजीहरुले पनि भन्नुभयो, गठबन्धनमा समस्या आयो । एउटै पार्टीमा त समस्या हुन्छ भने कुर्सीमा त समस्या हुन्छ नै यसलाई समान्य रुपमा लिनुपर्छ । तपाईहरु प्रधानमन्त्री भएपछि थाहा पाउनुहुन्छ ।’

    प्रधानमन्त्री प्रधानमन्त्री देउवाले सधैँ जनताको लागि लडिरहने नेता गिरिजाप्रसाद कोईरालाको सालिक अनावरण गर्न पाउँदा खुशी लागेको बताए । उनले स्व. नेता कोईरालाले दलहरुबीच सहकार्य र सहमति गरेर अघि बढ्नुपर्ने कुरा बारम्बार भनिरहने उल्लेख गर्दै आजपनि सहमति र सहकार्यको कुरा सान्दर्भिक रहेको बताए । प्रधानमन्त्री देउवाले नेपाल ट्रेड युनियन काँग्रेसको कार्यालयमा ट्रेड युनियन काँग्रेसका संस्थापक अध्यक्ष स्व. नेता गिरिजाप्रसाद कोईरालाको अर्धकदको शालिक अनावरण गरे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend