काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले प्रेमी राहुल मोक्तान लगनगाँठो बसेकी छन् । उनीहरुले मंगलबार राति काठमाडौंमा नेवारी परम्परा अनुसार विवाह गरेका हुन् ।
विवाह समारोहअघि उनीहरुले सिल्भर ओक रेष्टुरेन्टमा रिसेप्सन दिएका थिए । दुलाहा–दुलहीको पहिरनमा सदीक्षा र राज आकर्षक र खुसी देखिएका थिए । नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट आफन्त र परिवारको उपस्थितिमा बिहे कार्यक्रम भएको थियो ।
पूर्वमिस नेपालहरु र हालको मिस नेपालको ब्याच पनि विवाह समारोहमा उपस्थित थिए । काठमाडौंमा जिमखाना सञ्चालन गरिरहेका राहुल र सदीक्षा केही समयदेखि प्रेमसम्बन्धमा थिए ।
रिसेप्सनमा सेलिब्रिटी, मिडिया उद्यमी र व्यवसायीहरुलाई पनि निम्तो दिइएको थियो । सदीक्षाले हालै डान्सिङ स्टार्स नेपाल रियालिटी शोमा कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् ।