logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • यसरी हुन सक्छ काठमाडौंको हैजा नियन्त्रण

    यसरी हुन सक्छ काठमाडौंको हैजा नियन्त्रण

    5.3K
    Shares
    यसरी हुन सक्छ काठमाडौंको हैजा नियन्त्रण

    लेखन : डा. सर्मीला तण्डुकार, अशोक पाण्डे, डा मनिता कुशी, र डा विजय शाक्य

    काठमाडौं । झाडापखाला विभिन्न ब्याक्टेरिया, भाइरस, फङ्गस तथा परजीविका कारण हुने गर्दछ । सामान्य झाडापखाला साधारण उपचारबाट निको हुने भए पनि हैजाको सङ्क्रमण देखिएमा त्यसले ज्यानै समेत लिन सक्छ । झाडाखाला सबै उमेर समूहका मानिसलाई हुन्छ । यद्यपि, चेतनाको अभावका कारण बालबच्चा तथा स्वच्छ पानी र सन्तुलित आहारमा सहज पहुँच नभएका कारण आर्थिक रूपले विपन्न परिवारका सदस्यहरू सङ्क्रमणको उच्च जोखिममा हुन्छन् । झाडापखाला काठमाडौं जस्तो घना वस्ती भएको समाजमा देखिएमा सङ्क्रमणको जोखिम उच्च हुन्छ ।

    पछिल्लो तथ्याङ्क अनुसार करिब तीन करोड जनसङ्ख्यामध्ये झण्डै एक करोड ३० लाख जति काठमाडौं उपत्यकामा बसोबास गर्दछन् । उच्च जनसङ्ख्या भएको काठमाडौं उपत्यकाका लागि अव्यवस्थित बसोबास, फोहोर व्यवस्थापनको अभाव, स्वच्छ पिउने पानीको अभाव, खाद्यान्नमा अखाद्य तत्वको मिसावट लगायतका समस्या सदाबहार समस्याका रूपमा रहेका छन् । यसले मानवीय स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । हरेक वर्ष गर्मीको समयमा काठमाडौं उपत्यकामा देखिने गरेको हैजाजन्य झाडापखाला यसपटक पनि देखिएको छ । यसका अतिरिक्त, कालाजार, मलेरिया, डेङ्गु, इन्फुल्न्जा लगायतका सङ्क्रामक रोगहरूले उपत्यकाबासीलाई हरेक वर्ष सताउने गरेको छ । मुख्यतः जनचेतनाको अभावले सरूवा रोगहरुले फैलिने मौका पाइरहेका हुन्छन् ।

    हैजा रोगको उत्पत्ति
    सन् १८४६ देखि १८६० सम्म फैलिएको लण्डनस्थित बेलायतको ब्रोड स्ट्रीट अहिले ब्रोडविक स्ट्रिट नजिकै अज्ञात रोगका कारण छ सय १६ व्यक्तिको मृत्यु भएको थियो । वैज्ञानिक खोज तथा अनुसन्धान हुँदै गरेको समय, तर सिद्धान्तको प्रतिपादन नभएको त्यस समयमा मियास्मा सिद्धान्त अन्तगर्त हावाका कणहरूबाट लाग्ने रोग हो भन्ने विश्वास गरिन्थ्यो । उक्त प्रकोपलाई अहिले पनि ब्रोड स्ट्रिट वा गोल्डेन स्क्वायर प्रकोप १८५४ ले चिनिन्छ । सन् १८५४ मा अनुसन्धानका क्रममा जोन स्नो नामक वैज्ञानिकले भिब्रियो कोलेरा नामक ब्याक्टेरिया दूषित पानी वा खानेकुराको माध्यमबाट मानिसमा सर्दछ र हैजाको सङ्क्रमण हुन्छ भन्ने पत्ता लगाए।

    नेपालमा हैजा रोगको प्रकोपको कुरा गर्दा सन् १८१८ मा उत्तरी भारत दिल्ली, राजस्थान र उत्तर प्रदेश मा देखिएको हैजाको महामारी नेपालसम्म फैलिएर प्रभावित बनाएको देखिन्छ । त्यसपछि नेपालमा हैजा बेलाबेलमा देखा पर्नेगरेको छ । हैजाकै कारण राजा रणबहादुर शाहकी रानी ललित त्रिपुरासुन्दरीको अप्रिल ६, १८३२ मा मृत्यु भएको थियो । सन् १८२३, १८३१ देखि ३२, १८४३, १८५६, १८६२, १८८७ देखि ८८ मा काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा हैजाको महामारी फैलिएको पाइन्छ । सन् १८८७ \८८ मा नेपालमा फैलिएको हैजाको महामारीले करिब नौ हजारको ज्यान लिएको प्रमाण छ ।

    त्यसैगरी, सन् १८९४ \९५ तिर कर्णाली क्षेत्रमा हैजाको महामारी फैलिँदा सयौँको मृत्यु भएको अनुमान गरिए पनि त्यसको विवरण भने पाउन सकिन्न । अहिले पनि कर्णालीतिर त्यही पीडालाई सम्झिँदै ‘चार साउन खायाको छोरो, चार माघ खायाको छोरो’ भन्ने उखान प्रचलित छ भने कसैलाई श्राप दिनु पर्दा ‘हैजाले लगोस्” भन्ने गरेको देखिन्छ ।  सन् १९०५ मा हैजाको महामारीमा परी चन्द्र शमशेरकी महारानी बालकुमारी देवीको मृत्यु भएको थियो भने सन् १९५८ मा काठमाडौं उपत्यकामा हैजाको महामारीले धेरै मानिसको मृत्यु भएका कारण काठमाडौं नगरपालिकाले झिँगा मार्ने अभियानू सञ्चालन गरेको थियो । एक माना झिँगा मारेर बुझाए बापत साढे दुई रुपियाँ दिइन्थ्यो । जुन बेलासम्म नेपालका दरबारमा समेत चर्पी थिएनन् । सामाजिक सेवा अभियानको बलियो खम्बाका रूपमा चिनिने तुलसी मेहर श्रेष्ठकी आमाको पनि हैजाको कारण मृत्यु भएको उल्लेख छ ।

    सन् १९८६ मा हुम्लाको श्रीनगरमा हैजाका कारण सयौं जनाको मृत्यु भएको थियो भने सन् २००९ मा जाजरकोट, सुर्खेत, रुकुम र सल्यानमा फैलिएको हैजामा परी पाँच सय जनाभन्दा बढीको मृत्यु भयो । नेपालका प्राय सबै जिल्लामा वर्षैपिच्छ देखिने हैजा सन् २०१४ मा रौतहटमा देखा परेको थियो भने अहिले काठमाडौं देखिएको छ । सन् १८९० मा हैजाको उपचार गर्न वीर अस्पतालको शाखा अस्पतालको रूपमा स्थापना भएको ‘हैजा अस्पताल’ अहिले शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका नामले परिचित छ । साथै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर नौ काँडाघारीस्थित तुलसी मेहर महिला आश्रमको स्थापना समेत गरेको पाइन्छ । किन र किहले ? ।

    वर्तमान अवस्था
    नेपालमा हरेक वर्ष हैजाको सङ्क्रमण देखिँदै आइरहेको छ । पिउनका लागि प्रयोग गरिने पानीको श्रोत वा पानीका मुहानहरू प्राकृतिक प्रकोपजन्य बढीपहिरोबाट दूषितहुँदा पनि हैजा सङ्क्रमणको जोखिम हुन्छ । अव्यवस्थित बसोबासले फैलाउने प्रदूषण तथा नदीनालामा अव्यवस्थित रूपमा फोहोर मैला गर्दा पनि हैजा जस्ता दूषित पानीजन्य सरुवा रोग उत्पन्न हुन्छ र फैलिन्छ ।

    केही समय अघि काठमाडौं उपत्यकामा फोहर व्यवस्थापनको समस्या पुनः बल्झिएको थियो । त्यसैको पृष्ठभमिमा काठमाडौं उपत्यकाका बाह्रभन्दा बढी ठाउँमा हैजाको सङ्क्रमण देखिएको छ, र हरेक दिन सङक्रमितको सङ्ख्या वृद्धि भइरहेको छ । काठमाडौं महानगरपालिकाले फोहोर विसर्जन गर्दै आएको नुवाकोटको सिस्डोल र काभ्रेको बन्चरे डाँडामा पटक पटक विवाद सिर्जना हुँदा उपत्यकाबासीले चोकचोकमा फोहोर थुपार्दा दुर्गन्ध फैलिनु र रोग सङ्क्रमणको जोखिम बढ्नु स्वाभाविकै हो । वर्षा याममा उपत्यकाका सडकमा फोहोर थुप्रिँदा वर्षाको पानीले फोहरबाट उत्पन्न भएको लेदो बगाएर पीउने पानीको मुहानसम्म पुर्याउँछ नै ।

    स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष २०७६\७७ को वार्षिक प्रतिवेदनका अनुसार पानीबाट फैलिने हैजा रोगबाट कुल ४६६ जनामा सङ्क्रमण देखिएको थियो, जस अन्तर्तग पुरुष र महिलाको सङ्क्रमित प्रतिशत समान रहेको देखिन्छ । हैजामा विभिन्न प्रकारका कीटाणुले असर गर्ने भको हुँदा यसको परीक्षण गर्दा हैजाका कारक एजेन्टको पनि परीक्षण गर्नुपर्ने हुन्छ । तथ्यले कारकहरू पहिचान नगरिएका हैजाको दर्ता धेरै भएको देखिन्छ तर, अनुसन्धानका माध्यमबाट कारक एजेन्ट र स्रोतको पूर्ण पहिचान गर्ने हो भने प्रकोप नियन्त्रण एकदमै फलदायी साबित हुन जान्छ। प्रकोप नियन्त्रण गर्नका निमित्त त्यसको मूल कारक पत्ता लगाउन सकियो भने त्यसले भविष्यमा निम्त्याउने खतरा निवारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।

    रोग फैलाउने संयन्त्र
    हैजा कसरी फैलिन्छ भन्ने कुरा बुझ्नको लागि यो रोग फैलाउने किटानुहरू हाम्रो घरको भान्छासम्म कसरी पुग्छ, त्यो बुझ्न जरुरी छ । काठमाडौं उपत्यकाको भित्री भागमा ढलको व्यवस्था छ भने ढल ले नसमेटिएको ठाउँहरूमा सेप्टी टङ्की राख्ने चलन रही आएको छ । यद्यपि, ढलको मर्मत समयमानै नहुँदा ढलजन्य पदार्थहरू सिधै जमिनमा मिसिन जान्छन्, जुन पीउने पानीको स्रोतसम्म पुग्ने सम्भावना रहन्छ ।

    अर्को महत्त्वपूर्ण पक्ष चाहिँ काठमाडौं उपत्यकाको सेफ्टी ट्याङकीहरुको संरचनामा नै ठुलो प्रश्न उठ्ने गरेको छ । मूलतः सेफ्टी टङ्की चर्पीबाट निस्कने फोहोरमा भएको ठोस र तरल पदार्थ छुट्टी तरल विस्तारै जमिनमा जाने संरचना हो । तर, हाम्रोमा कतिपय ठाउँमा राखिने सेफ्टी ट्याङ्की नभई सामान्य खाल्डो नै रहेको छ । त्यस्तो खाल्डोमा फोहोर सङ्कलन हुन्छ तर ती फोहोरहरू जमिनमुनि सिधै जान्छ, जसको कारण काठमाडौं शहरमा अर्गानिक प्रदूषण बढेको छ ।

    त्यसैगरी, जमिन मुनीको पानी सेफ्टी ट्याङ्की बिचको सम्बन्ध पनि बुझन जरूरी छ । सेफ्टी टङ्की सामन्यतः दुई मिटरको गहिराइमा राखिएको हुन्छ । हिउँदको समयमा जमिन मुनिको पानीको सतह धेरै तल जान्छ जसको कारणले गर्दा सेफ्टी ट्याङ्कीसँग पानीको सतहको दूरी बढ्छ । तर, वर्षाको समयमा पानीको सतह धेरै माथिसम्म अउने हुँदा सेफ्टी ट्यङ्की र पानीको सतह बिचको दूरी स्वतः घट्छ । त्यस्तो अवस्थामा सेफ्टी ट्याङ्कीको दिसाजन्य फोहोर जमिन मुनिको पानीमा मिसिन पुग्दछ । वर्षाको समयमा भारी वर्षा हुँदा प्राय घरको भुइतल्लामा रहेको चर्पीबाट फोहोर सहितको पानी बाहिर निस्केका कयौं घटना छन् । त्यस्तो अवस्थामा हैजा लगायतका अन्य रोगका किटाणुहरु जमिन मुनिको पानीमा सोझै मिसिने र त्यसैबाट रोग फैलिने सम्भावना हुन्छ ।

    त्यसैगरी, धाराको पानीमा समेत हैजाका किटानु भेटिएको भन्ने समचार सार्वजनिक भइरहका छन् । धाराको अवस्था पनि ढलको जस्तै रहेको छ । मेलम्चीको पानीका लागि धेरै ठाउँमा खाने पानीको पाइप फेरिएको छ, तर धेरै ठाउँमा जडानमा समस्या देखिएका छन् । धाराबाट पानी आउँदा सफा आउनु पर्ने ठाउँमा हिलो मिसिएर आउनु त्यसैको परिणति हो । हप्तामा एक पटक पानी आउने ठाउँमा जमिनको पानी पनि धारामा मिसिने गरेको अध्ययनले देखाएको छ । यसप्रकार, ढल र सेफ्टी ट्याङ्कीबाट जमिनको पानी हुँदै धाराको पानी हाम्रो घरको भान्छासम्म पुग्दछ ।

    ट्याङ्कर र जारको पानीमा समेत रोगका किटानु देखिनुको कारण पनि यही हो । यसले मानवीय स्वास्थ्यमा गम्भीर चुनौती सिर्जना गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हैजा फैलिने कारणहरूमा दूषित पानी, प्राकृतिक प्रकोप बाट उत्पन्न प्रदूषण, सुरक्षित पिउने पानी को अभाव मात्र नभई सरसफाइको चेतनामा कमी र स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँगको सम्पर्कमा ढिलाइ पनि उत्तिकै जोखिमपूर्ण हुने भनिएको छ ।

    सम्भावित सङ्क्रमणबाट बच्ने उपाय
    झाडापखालाका विभिन्न कारकमध्ये हैजा आफैमा घातक रोग भने होइन । यसको उपचार तथा रोकथामका उपायहरू छन् । बेलैमा सावधानी अपनाउन नसक्दा प्रत्येक वर्ष सङ्क्रमण देखिने गरेको छ । स्वास्थ्य सम्बन्धी ज्ञान र स्वास्थय क्षेत्रमा समान पहुँचको अभाव यसको उपचार तथा रोकथाममको पहिलो चुनौती हो । तथापि मानवीय दैनिक क्रियाकलापमा सावधानी अपनाउन सकियो भने सङ्क्रमणको जोखिमलार्इ न्यूनिकरण गर्न सकिन्छ । स्वयं व्यक्तिले सरसफाइमा मत्रै ध्यान दिएर रोग निवारक प्रयासलाई आत्मसाथ गर्नु नै यस रोगबाट बच्ने अचुक उपाय हो ।

    कतिपय रोकथामका उपाय व्यक्तिगत पहुँच र क्षमताभन्दा बाहिर हुन्छ । यद्यपि, त्यसका लागि जनचेतनामूलक सन्देश भने प्रबाह गर्न सकिन्छ । उदाहरणको लिग, पानी भर्न प्रयोग गरिएको ठाउँ र प्रयोग भइरहेको पाइपको गहिराई र अवस्थाको बारेमा सरोकारवालाले ध्यान पुर्याउनुपर्दछ । विशेष गरी गर्मीको समयमा पानी प्रशोधन तथा निमर्लीकरण लगायतका कार्यलाई सरोकारवाला निकायले गम्भीरताकासाथ प्राथमिकता राख्नु पर्दछ । बजारमा उपलब्ध हुने ट्याङ्कर तथा जारको पानीको पनि गुणस्तर मापनमा कडाई गर्न आवश्यक छ । व्यक्तिले व्यक्तिगत रूपमा घरको भान्छाको सरसफाइदेखि पानीका स्रोत र फोहोर व्यवस्थापनमा सम्बद्ध निकायले ध्यान दिने हो भने हैजा सङ्क्रमणको रोकथाम गर्न सकिन्छ ।

    (लेखक डा. सर्मीला तण्डुकार, अशोक पाण्डे, डा मनिता कुशी  निति अनुसन्धान प्रतिष्ठान   र डा विजय शाक्य एस फोर डब्लुमा कार्यरत हुनुहुन्छ)

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend