काठमाडौं । आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुनः बस्नेगरी टुंगिएको हो ।
जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार भदौ ९ गतेभित्र सिट बाँडफाँट टुंग्याउने सहमति भएको छ । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला सहभागी थिए ।