काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न क्षेत्रमा दाहालहरुले प्रगति गरेको बताएका छन्। शनिबार चितवनमा आयोजित दाहाल कल्याणकारी समाज, चितवनको प्रथम जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले आफूले दाहालहरुको प्रगति हेर्न पाएको बताए।
‘मैले कतिपय बेलामा सञ्चार क्षेत्रमा मिडिया क्षेत्रमा दाहाल दाहाल बन्धुहरु, दाहाल कुलका हाम्रा बन्धुहरु हेर्ने र देख्ने मौका पाउँछु। दाहालहरुमा विशिष्ट प्रतिभा भएको क्षमता भएको, कोही साहित्यकारको रुपमा, कोही कलाकारको रुपमा, कोही वैज्ञानिकको रुपमा, कोही कुन क्षेत्रमा निकै राम्रै प्रगति गरेको मैले महसुस गर्दछु, उनले भने।
उनले पहिला दाहालभन्दा अपरिचित(अपरिचित जस्तो, मानिसहरुले दाहाल भन्दा सम्मानले हेर्ने भन्दा पनि अलि होच्याएर हेर्ने गरेको बचपनका यादहरु आफूलाई आउने गरेको बताए।
तर अहिले दाहालहरुले विभिन्न क्षेत्रमा गरेको प्रगति, शिक्षाको क्षेत्रमा, विज्ञानको क्षेत्रमा, कलाको क्षेत्रमा, साहित्य र संस्कृतिको क्षेत्रमा या उत्पादन र विकासको क्षेत्रमा, व्यवसायको क्षेत्रमा प्रगति गर्दै जाँदा र अनि राजनीति, सबै नीतिको पनि नीति राजनीतिमा पनि दाहालहरुले गरेको योगदानका कारणले आजभोलि दाहाल भन्दा गर्व, सबैतिर दाहाल भन्दा एउटा सम्मान, पहिचान हाम्रो विकसित भएको छ। यो सबैको निम्ति खुशी र गर्वको कुरा हो, प्रचण्डको भनाइ थियो।