धनगढी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर ४को निर्वाचनमा गठबन्धनको पक्षमा बहुमत आउने दाबी गरेका छन् । शनिबार कैलालीको धनगढी पुगेका डा. महतले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । देशब्यापी गठबन्धनका पक्षमा जनलहर चलेको बताउँदै डा. महतले गठबन्धनले बहुमत प्राप्त गर्ने कुरामा कुनै दुईमत नै नभएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै डा. महतले बिगतमा ओली सरकारले काम भन्दा बढी गफ दिने संस्कृतिको विकास गरेकोले निर्वाचनपछिको गठबन्धनको सरकारले गफ भन्दा कामलाई बढी प्राथमिकता दिने बताए । डा. महतले भने, ‘बिगतको सरकारले देशमा स्थिरता कायम गर्न सकेन्, स्पष्ट बिदेश निति बनाउन सकेन्, जनताको जनमतको कदर गर्न सकेन तसर्थ एमाले प्रति जनतामा निराशा छाएको छ ।’
यस्तै सोही कार्यक्रममा बोल्दै डा. महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्र अनुसार काम गर्ने बताए । निर्वाचनको परिणामपछि सरकारको नेतृत्व कसले गर्ने भन्ने बिषयमा कुनै औपचारिक छलफल नभएको प्रष्टपार्दै डा. महतले कांग्रेस नै ठुलो दल बन्ने भएकाले ठुलो दलले नै नेतृत्वको दाबी गर्नु स्वभाबिक भएको बताए ।