बागमती प्रदेशमा डेङ्गुबाट हालसम्ममा २१ जनाको मृत्यु
काठमाडौँ । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणबाट हुने बिरामीको संख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो संख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
डेङ्गुबाट प्रभावित भएको यस प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्याङ्कमा उल्लेख गरिएको छ । काठमाडौँमा १३ हजार दुई सय जनामा डेङ्गु सङ्क्रमण भएको छ भने रसुवामा आठ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।
यसैगरी ललितपुरमा नौ हजार दुई सय, मकवानपुरमा चार हजार छ सय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा आठ सय ६० काभ्रेपलाञ्चोकमा चार सय ८०, रामेछापमा एक सय ६८, सिन्धुपाल्चोकमा एक सय ६५ जना संक्रमित भएका छन् ।
यस्तै नुवाकोटमा एक सय ६८, सिन्धुलीमा एक सय ३३ तथा दोलखामा ८२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइएको छ । यस प्रदेशमा डेङ्गुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।