बागलुङ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गते हुने निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरेका छन् । नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एउटै दलको शक्तिशाली सरकारले मात्र जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने बताए ।
स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताउँदै अध्यक्ष ओलीले भने ‘सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा पुग्छ । यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँका जनताका समस्या एमालेले बुझ्ने छ ।’
उनले एमाले पार्टी एक ढिक्का भएको बताए । कुनै गुट उपगुट एमालेमा नरहेको भन्दै उनले पार्टी बिगार्न लागेकाहरु बाहिरीएपछि ढुक्क भएको टिप्पणी गरे । अध्यक्ष ओलीले मङ्सिर चार गतेपछि बन्ने एमाले सरकारले गुमेको नेपालको भूमि कुटनीतिक पहलद्वारा फिर्ता ल्याउने जिकिर गरे ।
‘हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आँफै चडेर आएँ’, ओलीले भने, ‘अब पूर्वपश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँछ ।’ कार्यक्रममा बागलुङका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरुले पनि सम्बोधन गरेका थिए ।