काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि मतदान गरेका छन् । निर्वाचन आयुक्त भण्डारीले काठमाडौंको अनामनगरस्थित मिलन विद्या मन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त भण्डारीले निर्वाचनको प्रक्रियामध्ये सबैभन्दा महत्वपूर्ण प्रक्रिया मतदान भएकाले निर्धक्क भएर मतदान गर्न मतदातासमक्ष आग्रह गरे । उनले मतदान स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
उनले भने, ‘निर्वाचनको प्रक्रियामध्ये सबैभन्दा महत्वपूर्ण प्रक्रिया भनेको मतदान हो । मतदान स्वच्छ, निष्पक्ष र भयरहीत हुनुपर्छ भन्ने सबैको मान्यता हो । हामीले अहिले यति राम्रोसँग सहज र व्यवस्थित ढंगले व्यवस्था गरेका छौँ, व्यवस्थापन असाध्यै राम्रो छ । शान्ति, सुरक्षा राम्रो छ । कुनैपनि ठाउँमा दुर्घटना भए आयोग त्यहीँ ३० मिनेट भित्रमा पुगिसक्छ । खुशीसँग मतदान गरौँ ।’