काठमाडौं– प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रोचक चुनावी परिणाम आउने निश्चित भएको छ ।
प्रारम्भिक मतगणनाबाट स्पष्ट भएको छ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रो पोजिसन बनाउनेछ । काठमाडौं, चितवन, कास्की लगायतका सहरी क्षेत्रमा रास्वपाले राम्रो मत पाउनेछ ।
चितवन, कास्की र काठमाडौंमा कम्तिमा १० सिट प्रत्यक्षमा जित्ने अनुमान गरिएको रास्वपाले समानुपातिकमा पनि सोही हाराहारीको सिट जित्ने भएको छ । काठमाडौंको ६, ७, ८ र कास्की २ मा रास्वपाले अग्रता लिएको छ ।
प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेस र एमालेबीच प्रतिस्पर्धा राम्रो हुने देखिएको छ । मत ट्रान्सफर भएन, जनताले गठबन्धन रुचाएनन् ।
स्थानीय तहका आधारमा गरिएका सबै अनुमान फेल खाएका छन् । ललितपुर क्षेत्र नम्बर २, ललितपुर क्षेत्र नम्बर १, झापा २ लगायतका क्षेत्रमा एमालेले जसरी मत पाएको छ, त्यसले गठबन्धनको मत सोलोडोलो नगएको देखिएको छ । गठबन्धनको मत बाँडिएको प्रारम्भिक संकेतहरु देखिएका छन् ।
गठबन्धनमा कांग्रेसले पाएका सिटमा पनि उत्साहजनक मत खसेको छैन । जस्तो, अघिल्लो निर्वाचनमा पनि झिनो मतान्तरले पराजित भएका काठमाडौं ४ का एमाले नेता राजन भट्टराईको मत घटेको छैन । तर, माओवादीको थपिँदा समेत गगन थापाको मत धेरै बढेन । व्यक्तित्वका हिसाबले गगन भट्टराईभन्दा धेरै माथि छन् ।
ललितपुर २ मा दोब्बर मत रहेको गठबन्धनका कृष्णलाल महर्जन एमालेका प्रेमबहादुर महर्जन भन्दा आधा मत कम पाएका छन् । बरु यहाँ कांग्रेसको मत लौरो र घण्टीलाई गएको देखिन्छ ।
प्रारम्भिक परिणामअनुसार आधा मात्रै मत ट्रान्सफर भएको अवस्थामा एमालेले प्रत्यक्षमा ५० सिट पु¥याउनेछ भने समानुपातिकमा पनि कांग्रेस हाराहारी ल्याउनेछ । गठबन्धनका रहेका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले धक्का खाने अवस्था आएको छ ।
एमालेसँगको गठबन्धन गरेका जसपा अध्यक्ष उपेन्द्र यादवले पनि सप्तरी २ मा नराम्रो पराजय भोग्ने निश्चित भएको छ । सत्तारुढ गठबन्धन जस्तै एमाले–जसपा गठबन्धनको भविष्य पनि उत्ति राम्रो देखिएको छैन ।
प्रारम्भिक मतपरिणामअनुसार नै बाँकी मतगणनाको परिणाम आए भावी सरकार कसको नेतृत्वमा बन्ने प्रश्न झन् रहस्यमय र रोचक हुने देखिएको छ ।