काठमाडौं । निर्वाचन आयोगले करिव नौं दिन भित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंगलबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य सो समय भित्र सम्पन्न गरिसक्ने योजना रहेको जानकारी दिए ।
उनले बाजुरामा भने मानवीय क्षति भएकाले स्थिति सहज भएपछि त्यहाँको निर्वाचन अधिकृतसँग आवश्यक छलफल गरी मतदानको मिति तय हुने उनले बताए । सहायक प्रवक्ता अर्यालले भने, ‘प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ दुवैको मतगणना जारी छ । प्रदेशसभाको पनि एकसाथ प्रत्यक्ष र समानुपातिकका मतगणना हुन्छ । राम्रोसँग सम्पन्न भएका र सही तरिकाले गणना प्रक्रिया अघि बढेका स्थानहरुको मत गणना आयोगले भनेजस्तै अवको ८/९ दिनमा सकिने अनुमान गर्न सक्छौं।’
मंसिर ४ गते देशभर एकैसाथ मतदान भएको थियो । त्यसमध्ये १५ वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । हाल प्रतिनिधिसभाको १३८ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको र ४ स्थानमा मतपरिणाम आईसकेको पनि आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।
हाल प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना भईरहेको छ । मतगणना रोकिएको कतिपय स्थानहरुमा भने राजनीतिक सहमती गरेर त्यहाँको मतगणना कार्य सुरु गर्ने पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताए ।
आयोगले सबै क्षेत्रहरुमा मतगणना सुरु भएको मितिले २ दिन भित्र मतगणना गरिसक्ने योजनाका साथ काम गरिरहेको बताएको छ । स्थगन भएका कतिपय स्थानहरुको मत परिणाम भने अझै केही समय पर्खनुपर्नेछ ।