कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी सरस्वती बम बैजनाथ आधारभूत विद्यालयमा ७ कक्षामा अध्ययनरत छिन् । सामुदायिक विद्यालयमा पढ्दै आएकी उनी अंग्रेजी भाषा फरर बोल्नु र लेख्न सक्छिन् ।
विद्यालयमा अभिभावक, शिक्षक, सामुदायिक वनका पदाधिकारी र वडाका जनप्रतिनिधिको प्रयासमा विद्यालयमा अंग्रेजी भाषामा पढाइ हँुदै आएको छ ।
अंगे्रजीको अनिवार्य विषयसँगै अतिरिक्त अंग्रेजीमा पनि पढाइ हुने गरेको छ । गाउँकै विद्यालयमा अंग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्दो रहेको छ । टाढाको निजी विद्यालयमा चर्को शुल्क तिरेर अंग्रेजीकै लागि पढ्दै आएका बालबालिकालाई अभिभावकले छुटाएर गाउँकै विद्यालयमा भर्ना गरेका छन् ।
विद्यालयका प्रधानाअध्यापक अमरसिंह महराले अंग्रेजीमा पढाइ हुन थालेपछि विगतमा भन्दा विद्यालयमा विद्यार्थीको संख्या बढेको बताए । ‘अंग्रेजी विषयमा पढाइ शुरू भएपछि विद्यार्थीको चाप बढ्दो छ,’ उनले भने, ‘हाल विद्यालयमा २८६ विद्यार्थी पढ्दै आएका छन्, विद्यालयमा अंग्रेजी विषयका शिक्षकको व्यवस्था गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने प्रयासमा जुटेका छौं ।’ १ देखि ८ कक्षासम्म अंग्रेजीमा पढाइ हुने गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयले कुनै पनि किसिमको शुल्क भने लिने गरेको छैन । विद्यालयबाट विद्यार्थीलाई टाई, बेल्टसँगै खेलकुद सामग्री निःशुल्क रूपमा उपलब्ध गराइँदै आएको छ । विद्यार्थी भर्ना, परीक्षा, प्रमाणपत्र बापतको शुल्क पनि लिने गरिएको छैन । नगरपालिकामा अंग्रेजीमा पढाइ हुने सामुदायिक विद्यालयमा बैजनाथ पहिलो हो ।
नियम उल्लंघन गरे कारबाही पनि हुने गरेको छ । ‘विद्यालयमा १० बज्नुभन्दा १५ मिनेट अगाडि नै घण्टी बज्ने गरेको छ, घण्टी बजेपछि विद्यार्थी र शिक्षकले विद्यालयको गेटबाट भित्र प्रवेश गरिसक्नुपर्छ,’ प्रधानाअध्यापक महराले भने, ‘बिहानीको प्रार्थनाअघि विद्यार्थी अनिवार्य रूपमा पिटी कवाजमा सहभागी हुन्छन् । त्यसपछि राष्ट्रिय गान र प्रार्थना गरेपछि कक्षा शुरू हुन्छन् ।’
उनका अनुसार विद्यालयको पढाइमा असर पुग्ने गरी ढिलो आउने शिक्षकलाई विद्यालय प्रवेश गर्न नदिने नियम बनाइएको छ । विद्यालयमा आएर छिटो घर जाने शिक्षकको आधा दिनको तलब कट्टा गर्ने र जानकारी नदिई बिदामा बस्ने शिक्षकको दामासाहीका हिसाबले तलब कट्टा गरी विद्यालयको कोषमा जम्मा गर्ने नियम लागू गरिएको प्रधानाध्यापक महराले बताए ।
विद्यालयमा बीचमै विद्यालय छाड्ने, निरन्तर विद्यालय नआउने विद्यार्थीको संख्या शून्य रहेको छ । ‘बालबालिका निजी विद्यालयझै चिटिक्क परेर टाई बेल्ट र पोशाक लगाएर विद्यालय आउने गरेका छन्,’ विद्यालयका शिक्षक मदन सिंह ठगुन्नाले भने, ‘विगतमा यस्तो थिएन, अभिभावकसँग निकै गहन छलफल, अन्तर्क्रिया गरेपछि विद्यालय सुधार गर्न सकेका हौं ।’
अहिले अभिभावकले बालबालिकाको पढाइको अवस्था बुझ्नका लागि विद्यालयमा पुग्न थालेको उनले जानकारी दिए । –रासस