चितवन । चितवनका सार्वजनिक स्थानमा जडान गरिएका आधाभन्दा बढी सिसिटिभी क्यामेरा प्रयोगविहीन भएका छन् ।
सुरक्षा व्यवस्थामासहयोग पुग्ने उद्देश्यले जडान गरिएका सिसिटिभी क्यामराले काम नगर्दा प्रयोगबिहीन बनेका हुन् ।
सिसिटिभी नचल्दा बजार क्षेत्र र सडक वरिपरी हुने चोरी, तोडफोड र सवारी दुर्घटना अनुसन्धानमा प्रहरीलाई समस्या हुने गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार जिल्लामा ३७ वटा सिसी क्यामेरा जडान भएकोमा २० वटा क्यामरा बिग्रिएका छन् ।
जिल्लाका केन्द्रीय बसपार्क, हाकिमचोक, चौबीसकोठी, बीरेन्द्र क्याम्पसचोक, लायन्सचोक, सहिदचोक, पुलचोक, आँपटारी, मुग्लिङलगायत अन्य विभिन्न क्षेत्रमा ३७ वटा क्यामेरा जडान भएका छन् । त्यसमध्ये २० वटा क्यामेरा सञ्चालनमा छैनन् । क्यामेरा बिग्रेको महिनौँ हुँदा पनि मर्मत गरिएको छैन ।
“सञ्चालनमा रहेका१७ वटा क्यामेरा पनि राम्रो गुणस्तरका छैनन् । जसको कारण सडक दुर्घटनामा गाडीको नम्बर पत्ता लगाउन कठिन छ”, पण्डितले भने, “हामीले भरतपुर महानगरपालिकासँग समन्वय गरेर क्यामरा मर्मतको काम त समय समयमा गर्दै आएको छौँ ।”
भरतपुर महानगरपालिकाका शाखा अधिकृत झलक श्रेष्ठले महानगरले क्यामेरा जडानको निर्णय नगरेको तर बिग्रेको क्यामेरा मर्मत जिल्ला प्रहरीसँग समन्वय गरेर गर्दै आएको छ ।